प्रेम पत्र


  • २ फाल्गुन २०७६, शुक्रबार ०९:११ प्रकाशित
  • २७५८ पटक पढिएको

  • भोलिपल्ट पठाउने जमर्कोसहित समसाँझमै लेख्न तयार भइयो । तर प्रेमसम्वन्धी कुनै अनुराग मनमा उत्पन्न नभएकाले कसलाई र के कल्पना गरेर लेख्ने ? अन्यौल भयो । फेरि म्यागाजिनमै फर्किएँ । त्यहाँ युवकले कुनै केटीलाई प्रेम प्रस्ताव गरेर पत्र लेखेका थिए । सोचेँ, त्यो पात्र मै हुँ र अब त्यो प्रेम प्रस्ताव स्वीकार्दै त्यसको प्रत्युत्तर लेख्छु ।

    यति सोच्नासाथ अन्यौलको जालो क्षणभरमै फाटियो । कलम, कापीका पन्नामा बेतोड कुद्न थाल्यो, एकपल पनि नरोकिने तन्मयकासाथ । अहिले जस्तो काखको ल्यापटपबाट क्षणभरमै इलेक्ट्रोनिक भर्सनको सामग्री फुत्त पठाउने स्थिति र पहुँच कहाँ हुनु त्यतिबेला ? कि पत्रिकाको कार्यालयसम्म पुगेर पाण्डुलिपी बुझाउनु पर्ने कि हुलाकको सहारा । कार्यालय टुेकुतिर रहेको त थाहा भयो तर ‘प्रेमपत्र’ बुझाउन सोधखोज गर्दै के जानु ? त्यसैले हुलाकबाटै पठाउने निधोसहित ठेगाना, टिकट, खामबन्दीको काम तमाम गरेर बिहान कलेज लागेँ । कलेजबाट फर्कने बेला पाइला सुन्धारास्थित हुलाक कार्यालयतर्फ सोझियो, पठाउने काम सम्पन्न भयो । तर पुग्ने, नपुग्ने के ठेगान ?

    पठाएको दिन उत्सुकता बढी थियो । त्यसपछि सबै सामान्य । एकदिन साँझतिर ल्याण्डलाइन फोनको घण्टी बज्यो । उठाएँ । दाइ भनेर सम्वोधन गर्ने व्यक्तिको रहेछ । उनले एकै सासमा भने, ‘लौ बधाई छ । मान्छे यो चरणमा पुगिसकेको रहेछ, प्रेमको कुरा पनि पत्रिकाबाट पो थाहा पाइयो । प्रेम त भयो भयो, यति राम्रोसँग प्रस्तुत गर्न पनि आउँदो र’छ है ?’ उनी अरु पनि के-के भन्दै थिए, तर मेरो ध्यान भने ‘नव सार्थक’ पत्रिकाले तानिसकेको थियो ।

    फोन राखेर पत्रिका पसल दौडिएँ । म्यागाजिनको फटाफट पन्ना पल्टाउँदै त्यही स्तम्भमा पुगियो । आफ्नो फोटोसहित छापिएको ‘उत्कृष्ट प्रेमपत्र’ शीर्षक देखेरै मन थरथर काँप्न थाल्यो । किनेर तुरुन्तै घर फर्किएँ । आफ्नो कोठाको ढोकासमेत लक गरेर सबै हरफहरुमा आँखा दौडाएँ । आफूले लेखेकोमा एक शब्द पनि तलमाथि थिएन ।

    खुशीभन्दा सन्त्रासले बढी च्याप्न थाल्यो । पत्रिकामा प्रेमपत्र छपाउने भनेर सबले अब मेरो खिल्ली उडाउँछन् । अझ आफन्त, नातेदारहरुले मेरो यो कामको कस्तो खाले टिप्पणी गर्ने हुन् ? किनकी आफ्नो परिवारको तुलनामा उहाँहरुको सोचाइको घेरा अलि साँघुरै थियो ।

    डराउँदै ठूलो दिदीलाई पत्रिका देखाएँ । आफन्तहरुको प्रतिक्रिया के हुने होला भनेर चिन्ता जाहेर गरेँ । उहाँले लेखनको प्रशंसासँगै केही निश्चिन्त बनाइदिनु भयो । ‘कसैले प्रतिक्रिया जनाएछन् भने प्रतियोगितामा भाग लिएको थिएँ, उत्कृष्ट भएँ भन्देन कुरै सकियो,’ उहाँको ढाडस थियो त्यो । केही हल्का महसुस भयो ।

    तर मनमा पलाए जति डरसँग सामना गर्नु परेन । नकारात्मक टिप्पणी आउने नातेदारहरुले सायद मेरो त्यो लेखाइबारे हेक्कै पाएनन् । कलेजका साथीहरु र बाहिरी सम्पर्कका धेरैजसो मान्छेहरुबाट भने तारीफ नै पाइयो । घनिष्ठ नरहेका कलेजका कतिपय केटाहरुले चाहिँ ‘हामी हुँदाहुँदै त्यस्तो राम्रो प्रेमपत्र प्राप्त गर्ने भाग्यमानी को होला है ?’ भन्दै छेडखान खुब गर्दथे । उनीहरुको त्यो टिप्पणीले पनि रमाइलै अनुभूति दिलाउँथ्यो ।

    पत्रिका छापिएको त्यस्तै साता–पन्ध्र दिनपछि पत्रिकाको कार्यालयमा फोन गरेको थिएँ । नाम बताउनासाथ अरु थप कुरा भन्नै परेन । अत्यन्तै हार्दिक शैलीमा कुराकानी भयो । लेखाइको प्रशंसा फोनबाटै पाइयो । भेटघाट र नगद पुरस्कार ग्रहणका लागि कार्यालयमा आउन आग्रह गरियो । बताइए बमोजिम टेकुस्थित कार्यालय भेटाउन गाह्रो परेन । खामभित्रको नगद पुरस्कार त छँदैथियो, ‘अव नव सार्थकलाई कता डोर्‍याउने त्यो तपाईंहरु जस्ता होनहार लेखकहरुको जिम्मेवारीभित्र पर्दछ,’ कार्यालयका जिम्मेवार व्यक्तिबाट बोलिएका ती शव्दले अहिले पनि उत्तिकै गौरवान्वित बनाउँछ ।

    दशकभन्दा अघिदेखि उक्त पत्रिका बजारमा देखेको छैन । कार्यालय नै बन्द भयो या अर्कै नाममा प्रकाशित हुन्छ त्यो पनि थाहा छैन । आफूसँग भएको म्यागाजिनप्रति सुरक्षित राखिरहेको थिएँ । तर बिनाप्रेम केवल प्रभुत्व जमाउने पात्रको कव्जामा त्यो म्यागाजिन र त्यसभित्रको मेरो प्रिय रचना निर्ममतापूर्वक कैद भैरहेको छ । जबरजस्ती थिचिएको मालिकत्वको विवश भोग्याबाट आफू स्वतन्त्र भए पनि आफ्नो अन्तरमनको पवित्र अभिव्यक्तिलाई त्यसरी कैदी अवस्थामै छोड्नु पर्दा मन एकदमै अमिलिन्छ । मेरो आफ्नै निरीहपन होला, मैले त्यसलाई अब सायदै आफू जस्तै स्वतन्त्र बनाउन सक्नेछु ताकि प्रकाशित सो रचनालाई छातीमा टाँसेर स्वतस्फुर्त उर्लिएका ती हरफहरुको श्रृजना साँझमा म पुनः फर्कन सकुँ । पठाउने प्रतिमा केरमेट नहोस् भन्ने हेतुले पहिले मस्यौदा गरेकोप्रति भने अहिले पनि मसँग सुरक्षित छ । बेला–बेलामा त्यही प्रति दोहोर्‍याएर पढ्न मन लाग्छ ।

    पहिलो लेखाई थियो त्यो मेरो । त्यो पनि जोशमा लेखिएको । त्यसैले शव्द छनौट, भाषा शैली, र शुद्धाशुद्धी सबैमा धेरै त्रृटि देख्छु । तैपनि प्रत्येक पटकको पढाइले ती हरफ लेख्दाको अन्तरमनको तरंग र तत्कालीन भावनात्मक परिवेश दुवैको नजिक पुर्‍याइदिन्छ । त्यसको तुलनामा अरु सबै त्रृटिहरु सतही बनिदिन्छन् । कसैप्रति छचल्किएको प्रेम नभए पनि प्रेमसम्वन्धी आफ्नो दृष्टिकोण र मान्यताको साँचो अभिव्यक्ति त थियो नै त्यो प्रेमपत्र । प्रेमसम्वन्धी सोही मान्यता अविचलित छ अझै पनि । त्यसैले उत्कृष्ट ठहरिएको त्यो प्रेमपत्रलाई भ्यालेण्टाइन डेको सन्दर्भमा जस्ताको तस्तै प्रस्तुत गरेको छु ।

    मितिः २०५३/१२/१४/१

    क्षितिज रंगिदैको साँझ

    सच्चा छ प्यार, हृदयको माझ

    प्रिय ! जिन्दगीलाई सार्थक बनाउने क्रममा भौतारिँदा भौतारिँदै थाकिसकेको शरीरलाई अर्थपूर्ण मार्गतिर  डोर्‍याउने  अभिप्रायले आरामताको कल्पनालाई क्षितिज पारी हुत्याएर संघर्षको उकाली र ओराली चढ्दा र ओर्लदा पनि सकारात्मक विन्दु पहिल्याउन गाह्रो परिरहँदा, आफूभित्रैबाट निस्किएको आत्माग्लानीको तातो रापले आक्रान्त पारिरहेको बेला बल्ल मैले सहानुभूतिको सिर्सिरे हावा चल्ने छायाँदार चौतारीरुपी तिम्रो ‘प्रेमपत्र’ प्राप्त गरेकी छु । सायद तिमीद्वारा प्रेषित यो अनमोल सौगात यति छिट्टै म समक्ष उपलब्ध नभएको भए निसासिँदो परिवेशबाट बच्नको निम्ति भाग्दै जाँदा, तातिएको शरीरलाई तातै वातावरणले हफहफ पारिरहन्थ्यो, जसको आर्तनादबाट खप्न नसकेर पलायनताको मार्ग रोज्नु मेरोलागि अनिवार्य भैसक्ने थियो । तर जे होस्, तिम्रो यो प्रेमपत्र, जसका ओजिला हरफहरुमा आँखा पुग्नेवित्तिकै म आफ्ना सारा नैराश्यहरु आफ्सेआफ भुल्न पुग्छु, जसको बदलामा आत्मविश्वास तथा केही गर्ने प्रतिबद्धताको श्रृजनाले मेरो शरीर र मन दुवैलाई एकैचोटी जुरुक्क उचालिदिन्छ । म हर्षविभोर हुन्छु ।

    उपयुक्त शैली र साहसको अभावमा तिमी समक्ष व्यक्त हुन नसकी वर्षौं अघिदेखि संगालिएका मेरा मनभित्रका अव्यक्त भावनाहरु तिम्रो पत्र प्राप्तपछि तछाड–मछाड गर्दै यो सानो कागजको टुक्रामा साउने भेलसरी उर्लिरहेका छन् । हुनत मभित्र अटाइनअटाइ संग्रहित भैरहेका खुशीका भण्डारहरु कति छताछुल्ल छन् त्यो तिमीलाई विश्वास नलाग्न सक्छ । किनकी तिमी समक्ष छाती चिरेर यथार्थता देखाउन सक्ने असाधारण जादुगरी मैले प्राप्त गर्न सकेकी छैन । खैर जे होस्, तिम्रा प्रत्येक अभिव्यक्तिले अलौकिक आनन्द र उत्साहको घनघोर वर्षा गराइदिएर श्रृजनशिलतामा क्रियाशील हुन मलाई हरबखत प्रेरणा  दिइरहेको छ ।

    साँच्चै, मरिसकेको विरुवाले झाँङ्गिएर बसन्त सजाउन खोजेजस्तै तिम्रो पत्रको प्राप्तीले म पनि नैराश्यताबाट माथि उठेर औचित्यपूर्ण भविष्यप्रति आशावादी बनेको छु । जिन्दगीको वास्तविकतालाई बुझेर अर्थपूर्ण बनाउनका लागि गहिरिएर सोच्ने प्रवृत्तिको ज्ञान मलाई तिम्रो पत्रले दिएको छ ।

    हो, तिमीले भने जस्तै अनावश्यक रवाफ र सम्पत्तिको होडबाजीले हाम्रा भावनाहरुलाई कुठाराघात गर्नै सक्दैनन् । हाम्रो प्रेमभित्र आकाशका जूनतारा टिपेर सौगात स्वरुप आदान–प्रदान गर्ने कोरा कल्पना हुँदैनन् । अनि चखेवाको जोडी झैं हावामा बहकिँदै बादलको देश सयर गर्ने असंभव आकांक्षा पनि जागृत हुँदैनन् । त्यस्तै, क्षितिजको रंगिन च्यादर निकालेर घुम्टो ओढ्ने ओढाउने प्रस्ताव र स्विकृती पनि हाम्रो प्रेममा जायज छैन । हाम्रा प्रेमालापहरु कुनै मेला र उद्यानहरुमा छरिँदैनन् । रेष्टुरेन्टका टेबुल र सिनेमा हलका सिटहरुमा कैद हुन मान्दैनन् । अनि नाइट क्लबको डिस्को र क्याभ्रेमा रम्न जान्दैनन् । तिम्रा जुनसुकै साहसिक कदमको समानान्तर दुरीमा रहने अर्को कदम नियालेर हेर्ने गर्नु, त्यो मेरै हुनेछ । तिम्रो आलस्यतालाई व्युँझाउन निस्कने मेरो मधुर सुसेली त्यो पनि सधैं ताजै रहने छ ।

    हो प्रियतम् ! तिम्रो अन्तरआत्माको आवाजलाई समर्थन नजनाइ मेरो आत्माले एकपल पनि चैनसँग गुजार्न सकेन । त्यसैले प्रेमपत्र रुपी आवरणले सजिएर आएको तिम्रो पत्रको प्रत्युत्तरमा समर्थनका थुङ्गाहरुले रंगाएर मभित्रको अथाह खुशीको एक झलक तिमीमा प्रेषित गरिरहेकी छु । कहिल्यै निराश नहुनु तिमी किनकी–

    आस्था अब भाँचिदैनन्, तिम्रो साथ पाएकी छु

    धोका हुन्न जिन्दगीमा, कसम मैले खाएकी छु ।

    हाम्रा कार्यहरु अब अधुरा हुँदैनन् । श्रृजनात्मक खुट्किलाहरु चढ्ने क्रममा मेरा सहयोगी साथहरु तिमीप्रति हरपल न्यौछावर भइरहने छन् । आश्वासनमा जम्दिनँ म, व्यवहारद्वारा पोखिन चाहन्छु । त्यसैले मलाई चिन्न र व्यवहार बुझ्न म स्वयं  तिमीलाई नै उत्प्रेरित गराउन चाहन्छु । मेरा प्रत्येक धड्कनले यो बोलिरहेको हुन्छ कि तिम्रा हरेक साहसिक कदमहरुलाई सफलताले हरबखत चुमिरहुन् । अनि जिन्दगीको अनन्त यात्रासम्म तिम्रो गौरवपूर्ण साथ कायमै रहिरहोस् भन्दै मिलनका यी पुष्पगुच्छा तिमीलाई, हो प्रियतम ! केवल तिमीलाई…!!

    उही तिम्रो हृदयको

    प्रतिविम्ब

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस