रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा अत्यावश्यक वस्तु किनमेल गर्न निश्चित दूरी कायम !


  • २० चैत्र २०७६, बिहीबार १६:२९ प्रकाशित
  • ३२९ पटक पढिएको

  • रामेछाप – रामेछापको सदरमुकाम मन्थलीमा कोरोना भाइरस (कोभिड– १९)को संक्रमणबाट बच्न अत्यावश्यक वस्तु किनमेल गर्न निश्चित दूरी कायम गरिएको छ । लकडाउनको समयमा तरकारी, खाद्यान्न, औषधि, दैनिक उपभोग्य वस्तु किनमेल गर्नुपर्ने बाध्यता आएपछि बिहिबारवाट विक्रेता र क्रेताबीच तीन फिट दूरी कायम गरिएको हो । दैनिक उपभोग्य तरकारीको सहज आपूर्ति र स्थानीयको स्वास्थ्य दुवैलाई ख्याल गर्दै जिल्ला प्रशासनको निर्देशन अनुसार निश्चित दूरी कायम गरिएको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए । कोही संक्रमित व्यक्तिले खोक्छ वा हाँछ्यु गर्छ, तब भाइरस हावामा फैलन्छ । उक्त हावामा सास लिने दोस्रो व्यक्तिमा कोरोना भाइरस प्रवेश गर्ने संभावना रहन्छ । यस्तो अवस्थामा किनमेलको लागि जाँदा वा दोस्रो व्यक्तिसँग घुलमिल हुँदा संक्रमित हुने खतरालाई ध्यानमा राखी मन्थलीमा किनमेल गर्न निश्चित दूरी कायम गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् । उनले स्थानी सरकारसंग पनि आवश्यक समन्वय गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकको निर्णय अनुसार रामेछाप उद्योग बाणिज्य संघले अत्यावश्यक सामान विक्रि गर्ने पसल अगाडि निश्चित दुरी कायम गरेकोे बताइन् । तत्कालका लागि यसका थप व्यवस्थापनको जिम्मा पनि रामेछाप उद्योग बाणिज्य संघलाइनै दिइएको उनको भनाई छ । विश्वभरि फैलिएको संक्रामक रोग करोना भाइरस नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनका कारण मन्थली लगाएत रामेछापका बजार क्षेत्रहरु पूर्णरुपमा बन्द छन् । अहिले बिहान र बेलुका निश्चित समयका लागि निश्चित तरकारी, खाद्यान्न, औषधि, दैनिक उपभोग्य वस्तु पाइने पसलहरु खुल्ने गरेका छन् ।

    तस्बिर


    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस