असार २९ अर्थात भानु जयन्ती


  • २९ असार २०७७, सोमबार ०७:३७ प्रकाशित
  • १५५ पटक पढिएको

  • भानुभक्त आचार्य (वि.सं १८७१–१९२५) मुलतः वाल्मिकीय रामायणलाई नेपालीकरण गर्ने नेपाली आदिकविका रूपमा चिनिन्छन् । त्यसबाहेक उनका वधुशिक्षा, भक्तमाला सहित  अन्य फुटकर रचनाहरु छन् । साहित्य लेखेर नेपालमा उनको जत्तिको प्रसिद्धि कमाउने महाकवि लक्ष्मीप्रसाद देवकोटा एक होलान् । त्यसबाहेक भानुभक्तको जत्ति सम्मान कमाउने अर्को साहित्यकार नेपालमा छैनन् भन्दा हुन्छ ।

    देवकोटाले नै ‘चराहरूको चिरबिरजस्तो सहज कवित्व भएका’ भन्दै भानुभक्तको प्रशंसामा ‘नेपाली साहित्यका सर्वश्रेष्ठ पुरूष’ शीर्षकको निबन्ध लेखेका छन् ।

    भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूतिसमेत हुन् । नेपालमा आजसम्म भानुभक्त र उनका जीवनी लेखकसमेत रहेका मोतीराम भट्ट गरी दुईजना नेपाली भाषाका साहित्यकार राष्ट्रिय विभूति घोषित भएका छन् । राष्ट्रिय विभूतिका रूपमा भानुजति नै सम्मानित भएपनि मोतीको प्रसिद्धि भानुको जति छैन । भानुलाई भने मोतीले चम्काएको कुरा प्रमाणिक छ ।

    लेखोटको रूपमा थन्किएका भानुका रचनाहरुलाई नेपाली जनस्तरमा पु¥याउने काम मोतिले गरे । ‘कवि भानुभक्तको जीवनचरित्र’ लेखेर भानुको व्यक्तित्व र कृतित्व उजिल्याउने काम मोतीले नै गरेका हुन् ।

    भानुलाई मोतीले चम्काए भन्नुको अर्थ मोतीराम नभइदिएको भए भानुभक्त चम्किन्न थिए भन्ने होइन । त्यो काम मोतीले नगरेको भए ढिलोचाँडो अरू कसैले गथ्र्यो । भानुमा चम्किने गुण थियो, ढिलोचाँडो चम्किन्थे । बन्द बाकसभित्रको भानुका मोतीहरुलाई मोतीरामले बाहिर निकाले, अन्धकारमा चम्कियो ।

    भानुलाई चम्काउने मुख्य मोती रामायण थियो । रामायणले नै उनलाई चिनायो । चिनायो मात्र होइन प्रसिद्धिको शिखरमा पु¥यायो ।

    भानुले संस्कृत भाषाको ‘अध्यात्म रामायण’लाई नेपालीमा भावानुवाद गरे । त्यो केवल अनुवाद र रूपान्तरणको काम थिएन । त्यसमा भानुभक्तले आफ्नो उच्च काव्यकौशल पनि देखाए । संस्कृत रामायणलाई नेपाली मौलिकतामा ढालेर लेखिएको भानुभक्तीय रामायण नेपाली गाउँघरमा लोकप्रिय बन्यो ।

    रामायणको कथासार लिएर सुललित, सरल र सरस शैलीमा लेखिएको यो महाकाव्यले नेपाली जनमानसलाई मोहित बनायो । यसलाई नेपाली भाषाको सबभन्दा बढी पढिएको महाकाव्य दरिन कुनै कठिनाई भएन ।

    भानुभक्तलाई नेपाली साहित्यका आदिकवि मानिएको हो । नेपालकै आदिकवि भनिएको पनि होइन

    नेपालीमा रामगाथालाई लोकप्रिय बनाउन, नेपाली समाजमा रामायण संस्कृतिको विकास गराउन र नेपालीहरूमा रामप्रति भक्तिभाव बढाउन सर्वाधिक योगदान भानुभक्तीय रामायणको रह्यो । मोतीरामले ‘कवि भानुभक्तको जीवनचरित्र’मा ‘भक्ति रसका सर्वोच्च नेपाली कवि’ भनी लेखेका छन् । अहिले पनि नेपाली गाउँघरमा भानुभक्तीय रामायणको श्रद्धापूर्वक पाठ गरिन्छ ।

    भानुभक्तले एकैपटक नभई विभिन्न कालखण्डमा रामायणका भिन्न काण्डहरु रचेको देखिन्छ । १९०५ सालतिर बालकाण्ड लेख्न थालेको र १९१९ मा उत्तरकाण्ड लेखेर रामायण पुरा भएको पाइन्छ । भानुले संस्कृत भाषाको रामायण नेपालीमा ल्याइसकेपछि पनि लामो समयसम्म लेखोटकै रूपमा थन्किएर रह्यो । भानु बितेको १७ वर्षपछि वि.सं. १९४२ मा मात्र मोतीराम भट्टको पहलमा त्यो वनारसमा छापियो ।

    त्यसपछि राणाकालमै नेपाली साहित्य सम्मेलन, दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीको सम्पादनमा रामायण आयो । पञ्चायत कालमा साझा प्रकाशनले नै यसलाई प्रकाशनमा ल्यायो ।

    राणाकालमा नेपाली भाषामाथि हेयदृष्टि राखिन्थ्यो । नेपालीमा चिठीचपेटा लेख्न र सामान्य सिलोकसम्म भन्न सकिन्छ, गम्भीर साहित्य वा कलात्मक काव्य रचना गर्न संस्कृतमै प्राङ्गत हुनुपर्छ भन्ने मान्यता थियो ।

    त्यो समयको नेपालमा हिन्दी र उर्दुको प्रभाव पनि उत्तिकै थियो । त्यस्तो बेला भानुभक्त आचार्यले नेपाली कथ्य भाषाको ललित लेखनबाट नेपाली साहित्यको जग बसाए । नेपाली शब्दावलीहरूको प्रयोगबाट रामगाथालाई नेपाली जनबोलीमा ढाले । संस्कृतको गरिमामय धार्मिक ग्रन्थ नेपाली जनभाकामा आयो ।

    भानुले संस्कृतको शार्दूलविक्रीडित छन्दलाई नेपाली लोकलय जस्तै लोकप्रिय बनाइदिए । बाबुराम आचार्यले पुराना कवि र कवितामा भानुको प्रशंसा गर्दै लेखेका छन्– यिनले (भानुले) आफ्ना पद्यहरूमा भोजपुरी, अवधी वा व्रज भाषाका कविताहरूको छाया पनि पर्न दिएका छैनन् ।

    त्यसरी नेपाली भाषामा पनि उत्कृष्ट साहित्य सिर्जना हुनसक्छ भन्ने विश्वास भानुभक्तले जगाइदिए । र, नेपाली साहित्य लेखनमा जागरण आयो ।

    भानुभक्तको रामायण हिन्दु धर्मावलम्बीहरूका लागि केवल काव्यकृति थिएन । साहित्यिक आस्वादनका लागि मात्र यसको उपयोग भएन । मर्यादा पुरूषोत्तम श्रीरामको आदर्श जीवन गाथामा आधारित रामायण हिन्दुहरूका लागि पवित्र धार्मिक ग्रन्थ पनि थियो । परिणाम्, हिन्दुवहुल नेपाली समाजमा भानुभक्तीय रामायणको प्रभाव स्वभाविक रुपमा व्यापक बन्यो ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि यसकृतिले पवित्र धार्मिक ग्रन्थका रूपमा ठुलो सम्मान पायो । मध्य र पूर्वी नेपालमा भने साहित्यिक आस्वादनको लागि समेत लोकप्रिय बन्यो । कर्णाली र सुदूरपश्चिम लोक साहित्यमा निकै सम्पन्न रहेकाले ति क्षेत्रमा मध्य र पूर्वी नेपालमा जति रामायण लोकप्रिय बनेन । कर्णाली र सुदूरपश्चिम साहित्यिक आस्वादनका लागि भारत, चैत, माँगल, फाग, हुड्क्यौली, छलिया, भुवो, चाँभाइ आदि थुप्रै लोकगाथा–कथाहरू उपलब्ध थिए ।

    उता, नेपाली मूलका मानिसहरूको बसोबास रहेको पूर्वोत्तर भारतमा पनि भानुभक्तीय रामायण निकै लोकप्रिय बन्यो । भारतभर छरिएका फरक जात–समुदायका नेपाली भाषीहरुका लागि त भानुभक्त आचार्य एकताको प्रतीक नै बन्न पुगे । सूर्यविक्रम ज्ञवालीले आफ्नो सम्पादकीयमा ‘भगवद् भक्तिमा विश्वास भएका मातृभाषाका प्रेमी तथा देशभक्त भानुभक्तले आफ्ना सेवाद्वारा हाम्रो जातीय विकासका निम्ति महान् कार्य गरे’ भनेर तारिफ गरेका छन् ।

    भानुभक्त आचार्यभन्दा पहिले नेपालीमा कविता लेख्ने कविहरू नभएका होइनन्, तर आदिकवि कहलाउने सौभाग्य भानुलाई मिल्यो । नेपाली कविताको प्राथमिक कालको वीर र भक्ति धारामा भानुभक्त अगाडि, पछाडि र समकालीन भएर कलम चलाउने थुप्रै कवि थिए, तर ती सबमध्ये भानु सर्वाधिक लोकप्रिय प्रतिभाका रूपमा देखापरे ।

    भानुभक्तलाई सर्वप्रथम ‘आदिकवि’ भनेर सम्बोधन गर्ने मोतीराम भट्ट हुन् । दार्जिलिङबाट निस्केको ‘भानुभक्त स्मारक’ ग्रन्थका लागि दिएको सन्देशमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले पनि भानुभक्तलाई आदिकवि भनेका छन् ।

    सूर्यविक्रम ज्ञवाली, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम जस्ता नेपाली साहित्यका हस्तीहरूले भानुलाई आदिकवि मान्ने नै भए । हृदयचन्द्रसिंह प्रधानले भने वसन्त शर्मालाई आदिकवि र भानुभक्त आचार्यलाई ‘आदि प्रतिनिधि कवि’ भन्दा समीचीन हुने धारणा व्यक्त गरेका छन् ।

    प्राथमिककालीन कविहरूमध्ये भानुभक्तलाई नै श्रेष्ठ बनाएको ‘रामायण’ महाकाव्यले हो । संस्कृतबाट अनुदित भएपनि भानुको मौलिकता र उच्च कोटीको भावानुवादले यसलाई उत्कृष्ट काव्यकृति बनायो । रामायण नलेखका भए भानु सर्वश्रेष्ठ प्रतिभा हुने थिएनन्, आदिकविको उपाधि पनि पाउने थिएनन् ।

    रामायण बाहेक वधूशिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तरमाला जस्ता पद्य र ‘भर्जन्म घाँसतिर मन् दिइ…’, ‘बालाजी देख्याँ…’, ‘अमरावति कान्तिपुरी नगरी…’, ‘रोज् रोज् दर्शन पाउँछु’…, ‘बिन्ती डिट्ठा–विचारीसित…’ आदि फुटकर रचनाहरू हेर्दा पनि वीर धाराका यदुनाथ पोख¥याल, कृष्णभक्ति धाराका वसन्त शर्मा लुइटेल र निर्गुणभक्ति धाराका ज्ञान दिलदासभन्दा रचना कौशलमा भानुभक्त नै प्रखर देखिन्छन् । रामभक्ति धारामा त भानुभक्तसँग कुम जोड्न सक्ने कवि कुनै देखा पर्दैनन् ।

    आग्रही वा पुर्वाग्रही हेराइबाट कुनै व्यक्ति, वस्तु वा विषयलाई ठिक ढङ्गले ठम्याउन सकिँदैन । अति प्रशंसक वा निन्दक प्रवृत्तिले दृष्टिदोषको समस्या ल्याउन थाल्छ । भानुको नाम सुन्दै नाक खुम्च्याइ हाल्नु पर्दैन । राज्यको एक भाषिक नीतिले विगतमा नेपालका अन्य भाषाहरुलाई पाखा पारेकै हो । भानुभक्तको काव्यकलाका कारण अन्य भाषा–साहित्यको बिकासमा बाधा पुगेको हैन । भानुभक्तलाई नेपाली भाषाको साहित्यका आदिकवि मानिएको हो, नेपालकै आदिकवि भनिएको होइन ।

    भानुभक्त नै नेपाली राष्ट्रिय एकताका प्रतीक हुन् र उनले नेपालको भाषिक एकीकरण गरे भन्ने भनाइ पनि अतिरञ्जित छ । भानुभक्तले नेपालको भाषिक एकीकरण गरे भनेको के हो ? नेपालमा नेपाली भाषा र नेपाली भाषामा लेखिएको साहित्य मात्र छ त ? देशमा प्रचलित एक सयभन्दा बढी भाषामध्ये एउटाको श्रीवृद्धिमा योगदान गरेकै कारण सिङ्गो नेपालको राष्ट्रिय एकताको प्रतीक भन्नु अतिशयोक्ति हो ।

    आधुनिक नेपाल निर्माण प्रक्रियामा भानुभक्तको कार्यले बलियो आधार दिएको भने पक्कै छ । त्यसो भन्दैमा उनलाई राजनीतिक शीखरका पृथ्वीनारायण शाह वा विपी कोइरालासँग तुलना गर्न मिल्दैन । भानुको छुट्टै विरासत छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस