सरकारलाई गाली गर्नेले मास्क लगाउन त सक्छनी


  • १८ श्रावण २०७७, आईतवार ०८:५७ प्रकाशित
  • २२२ पटक पढिएको

  • काठमाण्डाै – पछिल्ला दिनमा काठमाण्डौमा कोरोनाको सङ्क्रमण बढेको छ । परीक्षण बढाउने हो भने काठमाण्डौको समुदायमा धेरै कोरोना छ भन्ने चर्चा छ । के काठमाण्डौमा साँच्चिकै जोखिम बढेको हो ? यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग गरिएको कुराकानी ।

    काठमाण्डौमा कोरोनाको जोखिम धेरै बढेको हो ?

    काठमाण्डौमा कोरोना सङ्क्रमितहरु थपिने क्रम बढेको सत्य हो । तर मानिसलाई काठमाण्डौ बाहिर हुँदासम्म चिन्ता कम भयो, अनि काठमाण्डौमा आएपछि अब घरछेउमै आयो भनेर चिन्ता बढेको हो ।

    समग्र देशको स्थिति हेर्दा सङ्क्रमणको दर घटेको छ । अघिल्लो महिना सङ्क्रमण दर आठदेखि १० प्रतिशत थियो भने अहिले तीन दशमलव छ प्रतिशतमा छ । तर काठमाण्डौमा देखिएको भएर मानिस डराएका हुन् । 

    काठमाण्डौमा सुरक्षाकर्मीमा सङ्क्रमण देखियो, यसको अर्थ समुदायमा सङ्क्रमण छ भन्ने हो ? 

    सुरक्षाकर्मीले ल्याएर सुरक्षाकर्मीलाई सारेका हुन् । यसको कन्ट्रयाक भेटिएको छ । सुरक्षाकर्मीले सुरक्षामा मापदण्ड पालना नगरेकाले यस्तो भएको हो । धेरैले गरेको भए पनि जसलाई सरेको छ, उनीहरुले जनस्वास्थ्यका मापदण्ड नअपनाएका हुन् । 

    त्यसो भए काठमाण्डौमा आत्तिहाल्नुपर्ने अवस्था हैन ? 

    नियन्त्रण हामी गर्न सक्छौँ, तर जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्छ । सरकारले काठमाण्डौका ५० लाख मानिसलाई मास्क लगाइ दिन सक्दैन । हामीले साङ्केतिक रुपमा मास्क पनि लगाइदियौँ पनि ।

    बाटोमा मास्क नलगाई हिँड्ने १६ हजारलाई मास्क लगाइदिएको छ । लाज हुनु पर्दैन ? सरकारले पाँच/छ हजार पर्ने परीक्षण गरेन भनेर कराउनेले दुई सय रुपैयाँको मास्क लगाउन सक्दैन ? कपडाको दुई वटा मास्क सिलाएमा पनि एक वर्षलाई पुग्छ । 

    अहिले पनि धेरैको गुनासो समुदायमा फैलिएको हुन सक्छ, सरकारले परीक्षण गरेन वा ढाँट्यो भन्ने छ नि ? 

    ढाँट्यो भन्नेलाई त मेरो भन्नु केही छैन । त्यस्तालाई त मैले जवाफ दिन पर्दैन । यो स्वास्थ्य मन्त्रालयको प्रवक्ता नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी हो । धेरै इमान्दार छ । बरु मर्न तयार छ, ढाँट्न तयार छैन । नेपाल सरकारले ढाँट्यो भने पनि जागेश्वर गौतमले ढाँट्दैन । 

    अनि सरकार त्यत्ति असंवेदनशील होला ? यो चाहिँ आफूलाई मन परेको कुरा सन्तुष्टि लिने तरिका हो । यो कोरोनामा राजनीति नगर भन्छु सबैलाई, भोलि यसले लैजाला ज्यान फेरि । 

    बाक्लो बस्ती भएको काठमाण्डौमा जनजीवन सामान्य जस्तै भयो, सङ्क्रमित भेटिएका छन्, जोखिम घटाउन अब के गर्नुपर्ला ? 

    सङ्क्रमणबाट बच्ने जम्मा चारवटा उपाय छन् । पहिलो कुरा घरबाट बाहिर ननिस्कने, अति आवश्यक नभइ लखरलखर किन हिँड्नुपर्यो ? पसल नै चलाउनु छ भने पनि एक जना जाँदा हुन्छ । दोश्रो कुरा दूरी कायम गर्ने। यदि दूरी कायम गर्न सक्नुहुन्न भने त्यस्तो ठाउँमा नजानुस् । तेश्रो कुरा मास्क लगाउनुस् । 

    सर्जिकल मास्क लगाउनुस्, त्यो संभव नभएमा तीन पत्र भएका तीन वटा मास्क सिलाउनुस् । धुँदै पालैपालो लगाउनुस् । अनि चौथो कुरा हात धुनुस्, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउनुस् ।

    यति गरेमा कोरोना लाग्दै लाग्दैन । किन डराएको ? किन त्रास ? मान्छेहरुले जुलुस गरेको देख्छु । मान्छे किन यति मूर्ख भएको ? यो जुलुस गर्ने, नारा लगाउने बेला हैन । आफू हुलमुलमा जाने, अनि मेरो मान्छे मर्यो भनेर रुने सरकारलाई गाली गर्ने कुरा त भएन नि । 

    अब काठमाण्डौमा फेरि लकडाउन गर्नुपर्ने अवस्था नजिक आएको छ कि छैन ? 

    जोखिम बढेको सबैलाई थाहा छ । जोखिम बढेमा ठाउँ विशेष लकडाउन गर्न सकिने पनि व्यवस्था छ । अहिलेलाई रातको समयमा काठमाण्डौका नाकाबाट आवातजावात रोकिएको छ।

    यदि सङ्क्रमण बढेमा लकडाउनसम्म पुग्न सकिन्छ । तर हरेक व्यक्ति सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गरेमा अहिले त्यो अवस्था आउन बाट रोक्न सकिन्छ भन्ने हो । 

    ujyaloonline बाट 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस