सालिक राख्ने कि ‘ग्याङ गिरोह’ फैलाउने


  • १३ भाद्र २०७७, शनिबार ०७:५३ प्रकाशित
  • १३० पटक पढिएको

  • मत—मतान्तर (लेख)

    प्रकाशचन्द्र परियार 

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्र बनाएर लेखिएका सयौं लेख, आलेख, टिप्पणी र विश्लेषणका बीच फेरि उनैका बारे अर्को कोणबाट लेख्न मलाई स्वयं ओलीको एउटा प्रतिप्रश्नले उद्वेलित गरेको हो। अग्रज सञ्चारकर्मी भूषण दाहाललाई प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अन्तर्वार्ताको कुनै शब्द, टिप्पणी, प्रतिबद्धता र प्रतिउत्तरले मलाई फिटिक्कै छोएन। तर पहिलोपटक जब उनले एउटा उत्तरमा जबर्जस्त नितान्त पारिवारिक टिप्पणी मिश्रित प्रतिप्रश्न गरे, म झस्किएँ। मैले त्यो टिप्पणीलाई १० पटक दोहोर्‍याएर सुनें, त्यसको गम्भीरतालाई मिहीन ढंगले विश्लेषण गरें। दक्षिण एसियाली राजनीतिक समाजमा यसको सन्देश चानचुने छैन, यो राजनीतिक सिद्धान्त, नीति र नियतिबीचको फरक कोण लाग्छ मलाई। त्यो उद्वेलन गर्ने टिप्पणी के थियो त ? फेरि भोलि मिडियाले छोराछोरीले गर्दा भनेर लेखिदेलान्, ‘मेरो छोराछोरी छैनन्।

    सम्माननीय ओलीको यो अभिव्यक्तिको दक्षिण एसियाली राजनीतिमा जब्बर महत्व छ। ओलीको यो सन्दर्भलाई केन्द्र बनाएर ओलीको अनमोल यात्रा किन फिस्स हुनु हुँदैन भनेर लेखिरहँदा ‘ईश्वर दाहिना’ भएका ‘सम्धी’ को नयाँ नियुक्तिले सामाजिक सञ्जाल पहेंलपुर भइरहेको छ।

    कतिसम्म भन्ने स्वयं उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जालबाटै त्यसको प्रस्टीकरण दिनुपर्ने अवस्था उत्पन्न भयो। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘मेरा कुनै नाता सम्बन्ध रहेका व्यक्तिद्वारा पद वा मसँगको सम्बन्धको दुरूपयोग गरी लाभ लिएको सत्य होइन।

    यहाँ नेपालको राजनीतिलाई वर्षौंदेखि विकृत बनाउने नातावादको सन्दर्भलाई एकपटक विगतबाटै फर्केर हेरौं। ओलीले मेरा सन्तान छैनन् भन्नुपर्ने अवस्थाको खास मर्म पारिवारिक र राजनीतिक रूपमा फरक छ तर विशिष्टताका हिसाबले म राजनीतिक रूपमा जोड्न चाहन्छु।

    गिरिजाबाबुको पुत्रीमोह कसरी प्रचण्डका लागि अनुकरणीय बन्यो ?

    नेपाली कांग्रेसमा लागेर सिंगो जीवन समर्पण गरेका सयौं कार्यकर्ता अहिले पनि पहुँच, पैसा, गुट र नेताको आशीर्वाद पाउन नसक्दा वडाध्यक्षको टिकट पाउनबाट वञ्चित छन्। किसुनजी, गणेशमान र गिरिजाबाबुकै सहयात्रीदेखि इमान र निष्ठावान् कांग्रेसीजनहरू कम्तीमा मरेपछि कांग्रेसको झन्डा ओढाइदिए पुग्छ भन्ने निस्प्रिय पात्रहरू, पार्टी सत्ताको जगजगी मच्चाइरहेका अर्काथरी कांग्रेसीजनबाट ‘हेयजन’ बनिरहेका बेला गिरिजापुत्री सुजाता कोइराला उल्लेख्य योगदानविना कसरी एकैचोटि उपप्रधानमन्त्री बनिन् भन्ने कुरा फर्किएर विश्लेषण गर्नैपर्छ।

    लोकतान्त्रिक आन्दोलनको जगमा सर्वाधिक विशिष्ट परिचय बनाएका गिरिजाबाबुले सत्ता, शक्ति र पदीय दुरुपयोग गर्दै अचाक्ली पुत्रीमोह देखाएपछि कसरी आलोचनाको पात्र मात्रै बन्नुपरेन; ‘जनयुद्ध’ को जगमा उदाएका प्रचण्डहरूका लागि एउटा प्रेरणादायी, अनुकरणीय नाताप्रेमी नेताका रूपमा सदा सम्मान, स्मरण गर्न अभ्यासमै उत्रनुपर्‍यो। कांग्रेससँग भागशान्ति जय नेपाल र मिलिभगत लालसलामको सम्झौता गरेर छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर बनाउन ‘जननेता’ को पगरी त्यागेर कसरी रेणु पितामा खस्न तयार भए कमरेड प्रचण्ड भन्ने कुरा अब विश्लेषणको विषय रहेन, राजनीतिमा नातावादका विषयमा गिरिजाबाबुको सपना साकार पार्ने एउटा कदम हो भनेर अन्तरवार्ता दिन मात्रै बाँकी छ।

    प्रधानमन्त्री ओली नेतृत्वको अहिलेसम्मको राजकाज शैली, नियुक्ति, निर्णय र अहंकार हेर्दा कतै पुत्रपुत्री मोह, नातावाद, गुटभन्दा पनि खराब ओली पृष्ठभूमिबाट विकसित दलाल राजनीतिको निकृष्ट ‘ग्याङ गिरोह’ को फन्दा पो बढी घातक हो कि ?

    कांग्रेस र गिरिजाबाबुलाई नजिकबाट नियालिरहेका कतिपय विश्लेषक गिरिजाबाबु दुईचार वर्ष थप बाँचेका भए सुजाता नेपालमा पहिलो महिला प्रधानमन्त्रीको इतिहास बनाउन सफल हुन्थिन् प्रचण्डहरूकै सहयोगमा भनेर भन्न टाउको कनाउँदैनन्।

    सबैलाई थाहा छ– इमान, क्षमता र योगदानको जगमा राजदूत बनाइएका प्रा.चोपलाल भुषालहरूलाई विपक्षीहरूका पालामा नियुक्त गरिएको भन्दै फिर्ता बोलाइन्छ तर प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्ष दलका नेताको आग्रहमा उनकै सासू प्रतिभा राणालाई पूरा कार्यकालका लागि राजदूतमा कायम राखेर नाता सम्बन्ध, लेनादेनाको राजनीतिलाई जगेर्ना गरिदिन्छन्। मान राखिदिने क्या गजब समझदारी है ! थाहा आन्दोलनका नेता रूपचन्द्र विष्टले राजनीतिमा नातावादको कटाक्ष गर्दै पञ्चायतकालमै बाँडेको पर्चामा ‘नाताभन्दा न्याय ठूलो, नातावाद मुर्दावाद !’ शब्दले पञ्चहरूदेखि दरबारियाहरू नै थर्कमान बनेको कुराले गणतान्त्रिक शासन व्यवस्थालाई किन छुन सकेन बडो विडम्बनाको कुरा छ।

    नेपालमा शासन सत्तामा पुगेका अधिकांश नेताहरूले नातावादको फेरोलाई राम्रैसँग बाँधेर शासन–प्रशासनमा रजगज गरेको कुरा अब लोकलाजको उत्तिसारो ठूलो विषय बन्न छाडिसक्यो। हुँदाहुँदा वातावरण यस्तो बन्दै गयो कि कुनै एक दलका नेताको परिवार, नाता र आफन्त मोहको आलोचना आउनासाथ अर्का दलकाले तिम्रो दलको फलाना नेताको हुँदाचाहिँ हुने, हाम्रो दलको नेताको भयो त के बिग्रियो भन्ने ‘उँधो खोले उत्तर’ को जगजगी सामान्य हुन थाल्यो। जसरी ‘कांग्रेसकाले भ्रष्टाचार गर्दा हुने हामीले मुख रसाएर बस्नुपर्ने भन्ने नेकपा शैलीले हैरान बनाएको छ। लाग्छ, राज्य दोहनको प्रतिस्पर्धामा कांग्रेसलाई उछिन्न सकिएन भने बर्बाद होइन्छ भन्ने मानसिकताले नेकपामा गहिरो घर गरेजस्तो छ।

    ओलीको अनमोल अवसर

    नेपालको अस्थिर राजनीतिको सबैभन्दा ठूलो असर विकास, सुशासन र समृद्धिले बेहोर्नुपरेको कुराको जनस्तरमा गहिरो रूपमा बोध भएरै ओली नेतृत्वको चुनावी मोर्चाले दुईतिहाइ नजिकको अपार जनमत पाएको हो भन्नेमा राजनीतिक विश्लेषकहरूले मत–मतान्तर गरेनन्।

    ‘जनयुद्ध’ समेत बुझाएर ओलीलाई सर्वेसर्वा बनाउन कमरेड प्रचण्ड तयार हुनु, आफ्नो उपचार खर्चमा सुरुदेखि नै राज्यको लगानी छ भन्ने चेत र दुईदुईवटा मिर्गौला फेरेर पनि राजकाजमा तन्गुरुस्त प्रस्तुत भइरहेका ओलीलाई संयोगवश गिरिजाबाबु र प्रचण्डलाई जस्तो सन्तानमोहको समस्या छैन। हो, फेरि एकपटक म अग्रज भूषण दाहालसँगको अन्तर्वार्तामा बढो मलिन तर व्यावहारिक तर्कको जगमा गह्रँुगो प्रतिक्रियात्मक टिप्पणी दिँदै आफू निःसन्तान भएको तर आलोचकहरूले, मिडियाहरूले त्यो नबुझी छोराछोरीले सत्ता दुरुपयोग गरेको, भ्रष्टाचार गरेको समाचार लेखेर तमासा देखाउलान् कि भन्ने कूटनीतिक प्रतिप्रश्न गरेर एकपटक सबैलाई झस्काइदिएका छन् र सम्झाइदिएका छन् गिरिजाबाबुलाई।

    राजनीतिशास्त्रको कुनै वाद, विचार र सिद्धान्तसँग उतिसारो खरो र प्रत्यक्ष सरोकार नराख्ने यो प्रसंग विगतदेखि नै सत्तारुढ दलका नेताका सन्तान, आफन्त र नाताहरूले राज्य दोहनमा कसरी हालिमुहाली गरिरहेका छन् भन्ने सन्दर्भसँग व्यावहारिक सम्बन्ध राख्छ। प्रधानमन्त्रीसँग अत्यन्त निकट हुँदा ७० करोडको भ्रष्टाचार आरोपलाई ‘क्लिन चिट’ दिन अख्तियारकै पाता कस्न उद्यत् सरकारलाई ओम्नी, यती, ३३ किलो सुनजस्ता दर्जनौं प्रकरणलाई ओझेल पार्न केकस्ता जोडबल लगाइएको होला भन्ने प्रारम्भिक संकेत नेपाली मिडियाले सार्वजनिक गरिसकेका छन्।

    उपराष्ट्रपति, पूर्वसभामुख, गृहमन्त्रीलगायतका छोराहरू सत्ताको आडमा राज्यदोहनमा लिप्त भएको समाचार सार्वजनिक हुँदा छोराछोरी नभएका, कडा औषधिले बचाइरहेका प्रधानमन्त्रीबाट विकास, न्याय र सुशासनको अलि बढी नै आश गर्नु अलि फरक कोण हुन सक्छ। दुःखद ! जुन स्तरमा ओलीले गर्न सक्ने अनमोल अवसर थियो विडम्बना बिचौलिया, माफिया, तस्कर र कालोबजारीयाबाट उनी घेरिन छाडेनन्, कि त्यो मोहले उनलाई छाडेन।

    भ्रष्टाचार, ऐंठन र सालिक सपना

    फेरि पनि दोहोराएर भन्छु– गिरिजाबाबु र प्रचण्डले राजनीतिमा जबर्जस्त स्थापित गर्न अभ्यास गरेको ‘पुत्रीमोह’, शेरबहादुर देउबाको जबर्जस्त उत्तराधिकारी स्थापित गराउन गरेको ’पत्नीमोह’ , पतिपत्नी आलोपालो सत्तारोहण अभ्यासको पृष्ठभूमिमा ओली त्यस्ता व्यक्ति हुन्, जसले कुनै छोराछोरीलाई राजनीतिमा जबर्जस्त स्थापित गर्नुपर्ने बाध्यता छैन, न प्रथम महिला राधिका शाक्यको त्यो चाह देखियो।

    अब प्रश्न उठ्छ– त्यसो भए किन फेरि पनि प्रधानमन्त्री बिचौलियाको, माफियाको, भ्रष्टाचारीको र तस्कर र गुन्डाहरूको चौघेराबाट उठ्न सकेनन् ? हो, जुन पृष्ठभूमिबाट, जुन सहयोग र जुन गिरोहको चंगुलमा बसेर उनीहरूको वैशाखी टेक्दै, आपराधिक पृष्ठभूमिकाहरूलाई संरक्षण गर्दै जुन राजकीय सर्वोच्च निकायमा पुगे, अहिले त्यही संस्थागत ग्याङको संरचनात्मक जञ्जिर तोड्न उनले चाहेनन्।

    म किन सकेनन् भन्छु भने राजकीय संकल्प, इच्छा शक्ति र नाफाको जीवनको उत्तरार्धमा राजनेतालाई हुने ऐंठन पुगेन। सालिक राख्ने, इतिहास छाप्ने, जनमनमा बस्ने सपना देखिनै चाहेनन्, उनले चाहेको भए त्यो जञ्जिर तोड्न सक्ने ठाउँमा उनी छन्।

    ल विगत छाडौं। आन्तरिक कटाक्ष र बाहिरी असहयोग हुँदाहुँदै पनि सबैभन्दा शक्तिशाली देखिएका ओलीले अझै पनि धेरै काम गर्न सक्छन्। के जनमनमा छाप छाड्ने काम गरेर जान्छु भन्ने चिन्ताले रातभरि छटपटिँदै, जनआकांक्षाको ऐंठन पल्टिँदै, देशैभरि सालिकको सपना देखेर अर्बौं, खर्बौं भ्रष्टाचार गरेर नागरिकलाई लत्याउँदै हिँड्ने कम्तीमा तीन दर्जन भ्रष्टाचारीलाई जेल कोच्न उनलाई कुन ऐनले गाह्रो पारेको छ ? खर्बौंको बेरुजु सल्टाउन कुन कानुनले छेकेको छ ? २०४८ सालदेखि सत्तामा बसेकाहरू, राजनीतिक नियुक्ति लिएकाहरू र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गरेर सुशासनको अभ्यास गर्न कसले छेकेको छ ? संसद् कोषलाई खारेज गरी त्यो कोषमार्फत खर्च हुने अर्बौं रुपैयाँलाई दीर्घकालसम्म जनताले अनुभूत गर्न सक्ने सुविधासम्पन्न अस्पताल, स्कुल–कलेज, राष्ट्रिय राजमार्ग निर्माण गर्ने महत्वाकांक्षी आयोजना सञ्चालन गर्न कहाँ कसले वाधा गरेको छ ? सुलभ र सुरक्षित सार्वजनिक यातायातको आयोजना सुरुवात गर्न कसले रोकेको छ ? कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर युवालाई जोड्ने राष्ट्रिय उद्यमशीलता आयोजना सञ्चालन गर्न कसले छेकेको छ ?

    राज्य लगानीको नाफाको जिन्दगी छ। दुईतिहाइ नजिकको जग छ, एक थान उपसभामुख बिन्ती माग्ने प्रतिपक्ष छ, राजनीतिमा ‘पुत्रपुत्री स्थापित’ गर्नुपर्ने बाध्यता छैन तर किन उनीबाट काम हुँदैन ?

    भनिन्छ– दुईतिहाइनिकट सरकारले संविधानको अपरिवर्तनीय भनेको धाराबाहेक सबै काम गर्न, नीति बनाउन सक्छ। विडम्बना बालुवाटार षड्यन्त्रको कस्तो अखडा बनेको रहेछ, ग्याङ मोहले संसद् छलेर कसरी दल विभाजनको अध्यादेश ल्याएर सक्कली मुहार देखायो भन्ने कुरा, इतिहासमै प्रधानमन्त्री, राष्ट्रपति र प्रधानन्यायाधीशबीच खराब साँठगाँठले शक्ति सन्तुलनको कसरी मजाक उडायो भन्ने कुरा दस्ताबेजीकरण भइसकेको छ।

    प्रधानमन्त्री ओली नेतृत्वको अहिलेसम्मको राजकाज शैली, नियुक्ति, निर्णय र अहंकार हेर्दा कतै पुत्रपुत्री मोह, नातावाद, गुटभन्दा पनि खराब ओली पृष्ठभूमिबाट विकसित दलाल राजनीतिको निकृष्ट ‘ग्याङ गिरोह’ को फन्दा पो बढी घातक हो कि भन्नुपर्ने निचोडमा म पुगेको छु।

    बाँकी समय अब सालिक राख्ने काम गरेर जाने कि संरक्षित ‘ग्याङ गिरोह’ लाई अझ फैलाएर जाने ? प्रधानमन्त्री ओलीले मृत्युबोध गरेर समय चेतलाई कसरी अभ्यास गर्छन् त्यसमै निर्भर हुनेछ।

    लेखक साझा पार्टी नेपालका केन्द्रीय सदस्री हुन 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस