काठमाडौमा एकैपटक ५ शिशुको जन्म ।


  • १९ आश्विन २०७७, सोमबार १९:५३ प्रकाशित
  • १६४ पटक पढिएको

  • काठमाडौँ — थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले पाँच शिशु जन्माएकी छिन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।

    गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा. कीर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दामात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्‍यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’ मृत शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।

    उनका अनुसार मृत शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धि-विकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।

    गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रिया गरी सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए ।

    ‘एउटै पाठेघरमा पाँचजना बच्चा हुनु र आठ महिनामै जन्मिएको हिसाबले तौल ठिकै मान्नुपर्छ,’ डा. सुवेदीले भने । आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राब या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।

    एकैपटक चार सन्तान प्राप्त हुँदा बुबा हरिकुमार तामाङको अनुहारमा हर्ष र चिन्ता दुवै देखिन्थ्यो । सोमबार दिउँसो अस्पताल पुग्दा उनी श्रीमतीको लागि खाना र औषधिका लागि दौडधुप गरिरहेका थिए । ‘पेटमै एउटा मरेको भनेर सुन्दा नरमाइलो लागेको थियो अहिले चारजना जिउँदो छन्, खुशी छु,’ उनले भने, ‘केही दिन आमा र बच्चा दुवैलाई खतरा छ रे, डर पनि लागेको छ ।’

    विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतीले सन्तान जन्माएका हुन् । बीचमा गर्भ रहे पनि दुईपटक खेर गएको उनले सुनाए । अब सन्तान नै हुन्छ भनेर आशा मारिसकेका उनी दिनैभर आफन्तसँग अस्पताल प्रांगणमा खुशी व्यक्त गरिरहेका थिए ।

    गर्भ बसेको १२ हप्तामा भिडियो एक्सरे गर्दा चारवटा शिशु छन् भनेर थाहा पाएपछि दम्पती काठमाडौं आएर बसेका थिए । चारवटा शिशु जन्माउन कुन अस्पताल जाने, कुन चिकित्सक छान्ने भनेर उनी यो बीचमा धेरै आत्तिएको बताए । ‘आफन्तले प्राइभेट अस्पतालमा सुत्केरी गराउँदा लाखौं खर्च हुन्छ भने । कसैले सरकारीमा लापरबाही हुन्छ भनिदिए,’ उनले भने, ‘धेरै अस्पताल धाएरै सोधें, विशेषज्ञहरु भरपर्दा हुन्छन् र खर्च पनि धेरै लाग्दैन भनेर प्रसूति गृहमा ल्याएँ ।’

    यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएको सुनिएको थियो । ‘धेरै पहिले हाम्रै अस्पतालमा एक महिलाले ५ वटा शिशु जन्माएको भनेर दावी छ तर त्यसको कुनै रेकर्ड भेटाएको छैन,’ डा. सुवेदीले भने, ‘मेडिकल साइन्सले पनि यस्तो घटना विश्वमै दुर्लभ मानेको छ, आफ्नो चिकित्सा अभ्यासमा यस्तो दुर्लभ खाले अभ्यास गर्न पाउँदा खुशी लागेको छ ।’

    उनका अनुसार गर्भमा एकभन्दा बढी शिशु हुनुमा आइभीएफ (कृतिम गर्भाधान) का विधि अपनाउनु प्रमुख कारण हो तर यो दम्पतीले यस्तो कुनै विधि नपनाई गर्भ रहेको दावी गरेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस