झलनाथको सर्प खेतिमा ७२ करोड खर्च यसरि हुँदै छ । (विवरण सहित)


  • २४ आश्विन २०७७, शनिबार ०७:२५ प्रकाशित
  • १५७ पटक पढिएको

  • काठमाडौं :कोभिड १९ बाट नागरिकलाई बचाउन खासै पूर्वाधार तयार पार्न नसकेको सरकारले यही समयमा सर्प पालनलाई विशेष प्राथमिकता दिएको छ । सरकारको प्राथमिकतामा परेपछि नेकपाका बरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापना गरिएको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान अहिले सर्प खेतीमा जुटेको छ ।कोभिड नियन्त्रणका लागि प्रशस्त समय हुँदा हुँदै आवश्यक पूर्वाधार बनाउन नसकेको र कोभिड १९ नियन्त्रणमा असफल भइसकेको सरकारले सर्प पालन एवं एन्टीभेनम उत्पादन परियोजनालाई ७२ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा यसअघि नै गरेको थियो । त्यसका लागि लागि संघीय सरकार, प्रदेश २ सरकार र सर्लाहीको लालबन्दी नगरपालिकाले सर्प पालन र एन्टीभेनम उत्पादनका लागि ७२ करोड रुपैयाँ खर्च गर्ने गरी प्रतिष्ठानसँग यसअघि नै सम्झौता गरेका थिए ।

    सोही सम्झौता अनुसार अहिले प्रतिष्ठानमार्फत खर्च गर्न सुरु गरेको छ । गत भदौ अन्तिममा सर्लाहीको लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई करिब १८ करोड रुपैयाँ उपलब्ध गराएको थियो । सोही अनुसार प्रतिष्ठानमार्फत आयाेजनाले एउटै शिर्षकमा दुई दुई पटक रकम खर्च गरेको कागजपत्र हाम्राकुराले फेला परेको छ । हाम्राकुरासँग रहेको सो कागज अनुसार प्रतिष्ठानले एउटै शिर्षक दुई दुई पटक उल्लेख गरेर १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ विभिन्न शिर्षकमा खर्च गरिएको जानकारी नगरपालिकालाई गराएको छ । नगरपालिकालाई भदौ २९ गतेको दिइएको पत्रमा आयोजनालाई उपलब्ध गराइएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्चको विवरण उल्लेख गरिएको छ ।

    कुन शिर्षकमा कति खर्च?

    हाम्राकुरा डटकमले फेला पारेको विवरण अनुसार लालबन्दी नगरपालिकाले भदौ २९मा उपलब्ध गराएको रकम विभिन्न शिर्षकमा खर्च गरिएको छ । जसअनुसार प्रत्येक महिनाको सानानगदी कोषको रकम आयोजना कार्यालय र सम्पर्क कार्यालयको लागि भन्दै १ लाख ८० हजार ७ सय ८० रुपैयाँ खर्च गरिएको छ । त्यस्तै कोभिड १९ रोकथामका लागि अनिवार्य भएकाले विभिन्न मितिमा स्वास्थ सामग्री खरिदका लागि भन्दै खर्च १ लाख ६ सय ९८ रुपैयाँ र मसलन्द खरिदमा १८ हजार ८ सय ५५ रुपैयाँ खर्च गरिएको खर्च विवरणमा उल्लेख गरिएको छ ।

    त्यस्तै आयोजनाको लागि विभिन्न विज्ञापन तथा सूचनाहरु प्रकाशित गरेवापत ४ लाख ८८ हजार ९२ रुपैयाँ २० पैसा, प्रत्येक महिनाको घरभाडा वापतको र आयोजना कार्यालयको घरभाडाको लागि दिइएको धरौटी सहीतको ५ लाख ६८ हजार ५३ रुपैयाँ १ पैसा तथा हवाई भाडा, बैठक भत्ता लगायतमा ४ लाख ६ हजार ७ सय ५० रुपैयाँ खर्च गरिएको छ ।

    त्यस्तै आयोजना स्थापनाको रिपोर्ट, पहिलो, दोस्रो, तेस्रो र चाथौ डीपीआर रिपोर्ट तथा ईआइएमा ३ करोड ४८ लाख ५९ हजार ३ सय ७० रुपैयाँ खर्च गरिएको खर्च विवरणमा उल्लेख गरिएको छ । दोस्रो चरणको अन्तिम रिपोर्ट, तेस्रो चरणको अन्तिम रिपोर्ट र डीपीआरकै अन्तिम रिपोर्ट शिर्षकमा १ करोड ८७ लाख ७० हजार ४ सय ३० रुपैयाँ खर्च गरिएको छ । त्यस्तै कर्मचारीहरुको तलब भत्तामा १४ लाख ८३ हजार ९९ रुपैयाँ ३३ पैसा, इन्टरनेट र अन्य सञ्चाल शिर्षकमा ६९ हजार ४ सय २२ रुपैैयाँ खर्च गरेको छ । त्यसैगरी २ वटा मोटरसाइकल खरिद शिर्षकमा ४ लाख ९९ हजार ७ सय रुपैयाँ, विभिन्न स्टेशनरीको सामान र अन्य विविध सामानहरु ख्रिद ६० हजार १ सय ९० रुपैयाँ खर्च गरेको विवरण आयोजनाले नगरपालिकामा पेश गरेको छ ।

    त्यस्तै आयोजनाको कार्यालयको सानातिना व्यवस्थापकीय खर्च शिर्षकमा ६६ हजार ७ सय ८५ रुपैयाँ, आयोजना कार्यालय मर्मता तथा सम्भार शिर्षकमा ६३ हजार ७ सय ८३  रुपैयाँ ९० पैसा र आल्मोनियम पार्टेशन खर्च ८५ हजार ३ सय ६२ रुपैयाँ ४६ पैसा खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै गाडीको मर्मत सम्भार खर्च ३ लाख ४१ हजार ९० रुपैयाँ ५० पैसा, कर्मचारीको बीमा खर्च ५४ हजार ८ सय ८० रुपैयाँ, चार पांग्रेगाडी खरिद ४९ लाख ४४ हजार ६ सय १४ रुपैयाँ ६० पैसा, आयोजनाको आधिकारिक वेवसाइट निर्माणमा  ९८ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ ।

    फर्निचर तथा फर्निसिङ खर्च १८ लाख ८० हजार ४ सय ३३ रुपैयाँ, फर्निचर खरिद खर्च ७८ हजार ८ सय ९६ रुपैयाँ, कम्प्युटरको विभिन्न सामान खरिद खर्च ७१ हजार ६ सय ४२ रुपैयाँ खर्च गरिएको छ । त्यस्तै चेक प्रिन्टर तथा भ्याकुम तथा अन्य इलेक्ट्रोनिक्स सामान खरिद ६९ हजार १ सय रुपैयाँ, फ्रिज र भ्याकुम खरिद ३२ हजार ५ सय ७५ रुपैयाँ, कार्यालय प्रयोजनका लागि मोबाइल सेट खरिद शिर्षकमा ३१ हजार ७५ रुपैयाँ खर्च गरिएको छ । त्यस्तै पंखा खरिद शिर्षकमा ७० हजार रुपैयाँ, मोटर खरिदमा १७ हजार रुपैयाँ, एसी खरिद ३ लाख ६० हजार ४ सय ९८ रुपैयाँ २५ पैसा, क्यामेरा र डिस्प्ले बोर्ड खरिद ३ लाख १२ हजार रुपैयाँ खर्च गरिएको छ । त्यस्तै इन्भर्टर खरिद शिर्षकमा ४ लाख ९८ हजार ५ सय रुपैयाँ, ल्यापट, प्रिन्टर, प्रोजेक्टर, फोटोकपी मसिन खरिद १३ लाख ५४ हजार ६ सय रुपैयाँ खर्च गरिएको छ । त्यस्तै डीपीआरको सुपरिभिजन, इन्जिनियरिको खर्च र आयोजनाको खरिद प्रक्रियाको लागि विज्ञहरुको परामर्श सेवा शिर्षकमा १८ लाख २२ हजार ७ सय ३१ रुपैयाँ ३० पैसा खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ ।

    झलनाथ खनाल प्रतिष्ठानको सवारी साधन भाडावापतको खर्च र सवारी साधनका लागि इन्धन १० लाख ८३ हजार ३ सय ६५ रुपैयाँ तथा जग्गा खरिदमा ६ करोड २५ लाख ६४ हजार ९ सय २५ रुपैयाँ ५ पैसा खर्च गरिएको छ । खर्चको विवरण हेर्दा फर्निचर खरिद, फर्निचर एवंम फर्निसिंग खर्च लगायतका शिर्षक दुई दुई चोटी उल्लेख गरेको देखिन्छ । hamrakura.com

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस