नेप्से सुचक दोहोरो अङ्कले घट्यो, हाइड्रोमा पहिरो


  • २६ आश्विन २०७७, सोमबार ०७:०७ प्रकाशित
  • ४७ पटक पढिएको

  • साताको पहिलो दिन नै नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंक कायम भएको छ । परिसूचकको गिरावटसँगै कारोबार २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९९ रुपैयाँ रकम बराबरको कारोबार सम्पन्न भएको छ ।

    अघिल्लो साता हाइड्रोपावर समूहमा बहार आएकोमा हाइड्रोपावरका सेयरमूल्यमा खेल्नेले थाहा पाएपछि बिक्रीको ओइरो लागेको छ जसका कारण अत्याधिक बिक्रीचापले हाइड्रोपावरका सेयरमूल्यमा भारी गिरावट आएको छ ।
    पहिलो त्रैमासको ब्याज भुक्तानीको दबाब र नजिकिँदै गरेको चाडपर्वका निम्ति रकम जोहो गर्न सूचीकृत कम्पनीहरुको बिक्री हावी भएको स्टक ब्रोकरहरु बताउँछन् ।

    गत साता हाइड्रोपावर कम्पनीहरुको सेयरमूल्य जसरी उकालो यात्रामा रहेको थियो त्यसैगरी आज हाइड्रोपावरका सेयरमूल्यमा पहिरो गएको छ । खराब अवस्था भएका र हकप्रदको जालो फिजाउँदै हाइड्रोपावरका सेयर कृत्रिम रुपमा चलखेल गर्र्दै बढाई उच्च मूल्यमा बिक्रीको आपूर्ति बढेकाले समेत ती सेयरहरुको मूल्यमा पहिरो गएको विश्लेषकहरुको भनाइ छ ।

    आजको दिन नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंक कायम हुँदा राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ परिसूचकसमेत ३.०१ अंकले घटेर ३११.७३ अंक कायम भएको छ ।

    यो दिन वित्त समूहबाहेक बाँकी ११ वटै समूह राताम्मै भए । बैंकिङ समूह १०.५ ,व्यापार समूह १९.६३ अंक,होटल समूह ३८.६३ ,विकास बैंक २०.८३ , जलविद्युत समूह २७.७५ अंकले गिरावट आउँदा वित्त समूहमा भने १७.५ अंकले वृद्धि देखिएको छ । यसैबीच निर्जीवन बीमा समूह ८६.३७ , उत्पादन समूह ४८.४८ , वित्त समूह ८.९३ ,बीमा समूह १०.७१ ,म्युचुअल फण्ड समूह ०.१ र अन्य समूहमा ९.२९ अंकले गिरावट आएको छ ।

    सबैभन्दा धेरै कमाउने कम्पनी
    आजको दिन सबैभन्दा बढी कमाउने कम्पनी आइसीएफसी फाइनान्स रहेको छ जसको सेयरमूल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ता २४६ रुपैयाँ पुगेको छ ।

    सबैभन्दा धेरै गुमाउने कम्पनी 
    साताको पहिलो दिन हाइड्रोपावर समूहमा पहिरो गएको छ । हाइड्रोका अधिकांश कम्पनीहरुको बिक्री चापले गर्दा ती कम्पनीहरुमा भारी गिरावट आयो । आज सबैभन्दा धेरै गुमाउने कम्पनीमा अपि हाइड्रो रहेको छ जसको सेयरमूल्य ७.१४ प्रतिशतले घटेर प्रतिकित्ता २०८ रुपैयाँसम्म ओर्लिएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस