मुख्यमन्त्री साहि विरुद्धको हस्ताक्षर फिर्ता गराउने प्रयास, होला त फिर्ता ?


  • २७ आश्विन २०७७, मंगलवार ०४:३६ प्रकाशित
  • ८७ पटक पढिएको

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका सदस्यलाई फिर्ता गराउने प्रयास सुरु भएको छ । त्यसका लागि केन्द्रीय सदस्य निरज आचार्यलाई सुर्खेत पठाइएको छ ।

    नेकपाका नेताहरूका अनुसार सुर्खेत पुगेका आचार्यले नेताहरू भेटघाट र छलफल अगाडि बढाएका छन् । त्यसले गर्दा शाहीइतर समूहले २७ असोज दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठक पनि अन्यौलमा परेको छ ।

    नेकपा स्रोतका अनुसार मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका १८ जनामध्ये पूर्वमाओवादी धारका तीन जनाले हस्ताक्षर गरेका छन् । ती तीनमध्ये पुष्पा घर्ती विष्ट र ठम्मरबहादुर विष्टको हस्ताक्षर फिर्ता हुने संभावना रहेको नेकपाको बुझाइ छ । धर्मराज रेग्मीले भने अझै पनि अटेर गरिरहेका छन् ।

    यता, माधव नेपाल समूहबाट हस्ताक्षर गर्ने सात जनामध्ये पाँच जना हस्ताक्षर फिर्ता लिने तयारीमा छन् । नेपाल पक्षमा चन्द्रबहादुर शाही र करवीर शाही भने अझै पनि फिर्ता लिन मानिरहेका छैनन् । चन्द्रबहादुर शाही एक वर्ष पहिला नै मन्त्रीको लागि प्रयास गरिरहेका थिए । त्यतिबेला मन्त्री हुन नपाएपछि पार्टीबाटै राजीनामा दिएका थिए । तर, अध्यक्ष केपी ओली, प्रचण्ड र नेता माधव नेपालले शाहीलाई राजीनमा फिर्ता गराएका थिए ।

    नेपाल समूहले त्यसका लागि केन्द्रीय सदस्य नीरज आचार्यलाई सुर्खेत पठाएको छ । बिहान प्रचण्डसँगको भेटमा पनि नेपालले आचार्यलाई खुमलटार लगेका थिए । बिहान प्रचण्डको छलफललगत्तै आचार्यलाई सुर्खेत पठाएको नेकपा स्रोतको दाबी छ ।

    साँझ आचार्यसहित नेपाल समूहका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री शाही अनि नेकपाका सुर्खेत अध्यक्ष धुव्र शाहीबीच छलफल भइरहेको नेकपा एक प्रदेश सदस्यले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस