कुखुराको मासु अहिले सम्मकै सस्तो प्रति केजि रु ११०, किसान मर्कामा


  • २७ आश्विन २०७७, मंगलवार ०५:२७ प्रकाशित
  • १३६ पटक पढिएको

  • चितवन । बोइलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।

    नेपाल बोइलर कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलका अनुसार अहिले बोइलर कुखुरा प्रतिकिलो रु १ सय १० हाराहारीमा बिक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो रु २ सय ५ रहेको उनको भनाइ छ । कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् ।

    तयारी मासु प्रतिकिलो रु १ सय ७५ मा समेत बिक्री हुने गरेको छ । चितवनमा प्रतिकिलो रु २ सय र काठमाडौंमा रु २ सय २० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन् ।

    पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताए । देशभर एक सयदेखि १० हजारसम्म बोइलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रु ६५ तिरेका थिए । सरदर प्रतिकिलो रु ३० को दाना खुवाएको उनले जानकारी दिए ।

    नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताए । उत्पादन नै बढी हुँदा समस्या भएको उनको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उनले बताए ।

    पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ । बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उनले बताए । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउँछन् ।

    नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिए । यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उनको भनाइ छ ।

    पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौंमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उनको भनाइ छ ।

    कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा रु ६५ बाट घटेर रु २० देखि ३० मा बिक्री हुने गरेको उनले जानकारी दिए । भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउछन् ।

    नेपालमा झण्डै दुई महिनाअघि जिउँदो बोइलर कुखुराको प्रतिकिलो मूल्य रु २ सय ७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।

    पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ । रु २१ प्रतिकिलोको मकै रु २८ र रु ६० को भटमास रु ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ । नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पु¥याउँदै आएको छ । यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन् । रासस

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस