गोल्मेश्वर क्याम्पसका प्रमुख सन्जय खड्कासँग गरिएको कुराकानी


  • २१ कार्तिक २०७७, शुक्रबार १८:०७ प्रकाशित
  • ५२१ पटक पढिएको

  • दोलखा जिल्ला तामाकोशी गाँउपालिका–४, मालूमा गोल्मेश्वर माध्यमिक विद्यालय अवस्थित छ । देशमा प्रजातन्त्र स्थापना भए लगत्तै वि.सं. २००९ साल पौष ९ गते स्थानीय समाजसेवी श्री गणेशबहादुर खड्काको अगुवाइमा यो विद्यालयको स्थापना भएका हो । विद्यालयको स्थापना सामान्यरुपले बारीको पाटामा भएको थियो । जहाँनीया राणशासनमा सर्वसाधारण जनताका छोरा छोरीले विद्यालयमा पढ्न पाँउदैनथे । विद्यालय स्थापना भए पछि सर्वसाधारण जनताका छोरा छोरीले सहज र सुलभरुपमा गाँउमै प्रारम्भिक शिक्षा पाँउन थाले । गाँउमै पढ्न पाँइने भए पछि आम मानिसहरुमा हर्सोल्लास छायो । ग्रामिण भेगको विद्यालय अहिले क्याम्पस भएको छ । यसै विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुख सन्जय कुमार खड्कासँग गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    अहिले विद्यालयको अवस्था कस्तो छ ?
    समग्रमा भन्नु पर्दा विद्यालयको अवस्था सन्तोषजनक छ । सुविधायुक्त भवनमा पठनपाठन हुन्छ । क्याम्पस सन्चालनको खर्च हामीले आन्तरिक श्रोतबाट जुटाएका छौं । भरपर्दो स्थायी श्रोत नभएकोले विद्यार्थीबाट पनि शुल्क लिने गरिएको छ । क्याम्पसलाइ दीर्घकालीन व्यवस्थपनको लागि स्थायी श्रोत साधनको खोजि गरिरहेका छौँ । आशा छ निकट भविष्यमै समाधान हुन्छ । अर्को खुसीको कुराचाहीँ गाँउमै सुलभ र सहज तरिकाले क्याम्पसस्तरको शिक्षा पाँउन सकेका छन् ।

    विद्यालयमा वालमैत्री वातावरण छ ?
    हाम्रो विद्यालयमा पूर्णतया बालमैत्री वातावरणमा पढाइ हुन्छ । विद्यालय लठ्ठीमुक्त छ । विद्यार्थीलाई कुनै पनि शारिरिक तथा मानसिक यातना दिँइदैन । तल्लो कक्षाका साना विद्यार्थीलाइ पारिवारिक तथा मायालू वातारणमा सिकाइ गर्छौँ । समय समयमा विद्यार्थाीलाइ कसरी सिकाइमा उत्प्रेरित गर्ने भनेर गाइड पनि गरिन्छ ।

    विद्यालय परिवार

    विद्यालय सन्चालनमा शिक्षक–कर्मचारी, अभिभावक, राजनैतिक दलहरुले कतिको सहयोग गरेकाछन् ?
    सबैले सहयोग गरेकै भएर त सफलता प्राप्त गरिएको हो नि है न र ? सवैको सहयोग भएर त हामी विद्यालय देखि क्याम्पस सम्मको यात्रा गर्न सफल भएका छौँ नि । ग्रामिण भेगमा क्याम्पस सन्चालन गर्नु त्यो पनि आन्तरिक श्रोतबाट गाह्रै कुरा हो नि ।

    क्याम्पस स्थापना गर्ने अवधारण कसरि आयो र संभव भयो ?
    देशमा लोकतन्त्र बहाली भए सँगै सरकारले गाँउ गाँउमा क्याम्पस स्थापना गर्ने योजना ल्यायो र विद्यालयस्तरको शिक्षा पछि उच्च शिक्षा अध्ययन गर्न सदरमुकाम वा राजधानी जानु पर्ने वाध्यता थियो जुन आधा भन्दा बढी विद्यार्थीको लागि संभव थिएन । यस्तै कारणले क्याम्पस स्थापना गर्ने अवधारण बन्यो र सम्बधित व्यक्ति तथा निकायले सहयोग गर्नु भयो । र महत्वपुर्ण कुरा त विद्यालयस्तरका शिक्षकले सहयोग स्वरुप क्याम्पस पढाउन राजी भए पछि क्याम्पस सन्चालन गर्न संभव भयो ।

    २०७२ सालको भुकम्पले विद्यालयलाइ कतिको क्षती गर्यो, अनि त्यो समयमा पठनपाठनको व्यवस्थापन कसरी गर्नु भयो र विद्यालय पुनः निर्माणको बारेमा पनि बताइदिनुस न ?
    २०७२ सालको विनासकारी भूकम्पले हाम्रो विद्यालयलाइ ठूलो क्षति पुर्यायो । विशेष गरि भौतिक संरचनामा धेरै क्षति पुग्यो । कोठािभत्र पठनपाठन संभव थिएन । विभिन्न सहयोगी संस्था तथा गाविसको सहयोगमा अस्थायी टहरा बनाएर पठनपाठन सुचारु गर्याैँ । विद्यालयको ध्वस्त भौतिक संरचना एसियाली विकास बैंकको पूर्ण लगानीमा निर्माण भयो । एडिबी को लगानीमा बनेको उक्त भवन २७ कोठाको छ र आवश्यक सुविधा सबै छ ।

    तपाइको विद्यालयमा विशेष र भिन्न कुरा के छ ?
    हामीले कृषि उत्पादनमा सहयोग पुग्ने गरि प्राविधिक शिक्षाको सुरुवात गरेका छौँ । जुन सिटिइभिटि बाट सम्बन्धन प्राप्त छ । ग्रामिण भेगमा यो शिक्षाले धेरै महत्व राख्न सक्छ र सरकारको कृषि सम्बन्धि कार्यक्रमलाइ फल दायी बनाउन पनि मद्दत गर्दछ ।
    हाल विद्यालयमा समस्या तथा चुनौतीहरु के के छन् ?
    कुनै पनि क्षेत्र जति सुकै सम्पन्न भए पनि समस्यामुक्त भने हुंँदैन । यस विद्यालयमा पनि समस्याहरु छन । आन्तरिक श्रोतबाट सन्चालन भइरहेको क्याम्पसलाइ स्थायी श्रोत खोजेर दिर्घकालीन रुपमा चलाउन चुनौती छ ।

    विद्यालयका भावी योजनाहरु के के छन् ?
    विद्यालयलाइ अझै व्यवस्थित र आधुनिक बनाउदै लाने, क्याम्पस सन्चालनको लागि स्थायी श्रोत खोजि गर्ने जसको लागि विद्यालयको जग्गामा उत्पादनमूलक कार्यक्रम सन्चालन गर्ने, क्याम्पसलाइ अझ विस्तार गरि कृषि क्याम्पसकोरुपमा स्थापित गर्ने भावी योजनाहरु हाम्रो छ ।

    कोरोना महामारिले विद्यालयको पठनपाठन मा ठुलो असर पारेको छ । यसको व्यवस्थापन कसरि गर्ने योजना बनाउनु भएको छ ?

    कोरोना महामारिले विश्वमानै ठुलो असर गर्यो । शक्ति राष्ट्रहरुलाइ चुनौती भयो । कोरानाको कारण सबै शिक्षण संस्थाहरु बन्द भए जसले विद्यार्थीको भविष्यनै अन्धकार तिर धकेलेको छ । सरकारले पनि योजना बनाउन नसकेको समयमा हामीले के योजना बनाउनु र ? समयसँगै सरकारले बनाएको कार्यविधि तथा योजना लागू गर्नुको विकल्प छैन ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस