पहिलो त्रैमासमा धेरै कमाउने १० बैंकहरु, कसले कति कमाए?


  • ३ मंसिर २०७७, बुधबार १०:३९ प्रकाशित
  • ५४ पटक पढिएको

  • काठमाण्डौ : । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा वाणिज्य बैंकहरुमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ।

    तिहारअघिसम्म २७ वटै वाणिज्य बैंकहरुले आफ्नो प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। तीमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्न ग्लोबल आईएमई बैंक सफल भएको हो। यो बैंक १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ नाफाका साथ पहिलो स्थानमा उक्लिएको छ। अघिल्लो वर्षको यही अवधिमा ७५ करोड ३१ लाख रुपैयाँ नाफाका साथ यो बैंक छैटौँ स्थानमा थियो।

    धेरै नाफा कमाउनेमा नबिल र एनआईसी एसिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नबिलले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन्। गत वर्ष यही अवधिमा नबिल १ अर्ब १२ करोड र एनआईसी एसिया १ अर्ब ९६ लाख रुपैयाँ नाफा आर्जन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए।

    समीक्षा अवधिमा प्राइम कमर्सियल बैंक १ अर्ब १ करोड रुपैयाँ नाफाका साथ चौथो स्थानमा र ८५ करोड रुपैयाँ नाफाबाट प्रभु बैंक पाँचौँ स्थानमा रहन सफल भएको छ। गत वर्षको यही अवधिमा यी दुवै बैंकले क्रमशः ६५ करोड ९७ लाख रुपैयाँ र ६२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

    गत वर्षको यही अवधिमा १ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गर्दै पहिलो स्थानमा रहन सफल राष्ट्रिय वाणिज्य बैंक समीक्षा अवधिमा ८२ करोड ९२ लाख रुपैयाँ नाफा कमाउँदै छैटौँ स्थानमा झरेको छ।

    प्रथम त्रैमासमा सबैभन्दा धेरै नाफा बढाएको देखिएको छ। तर वास्तविकता फरक छ। गत वर्षको यही अवधिमा ८१ करोड ५१ लाख नाफा आर्जन गरेको एनएमबी बैंकले समीक्षा अवधिको वित्तीय विवरण सार्वजनिक गर्दा २७ करोड २८ लाख रुपैयाँमात्र देखाएको छ। यो हिसाबले समीक्षा अवधिमा ७३ करोड २९ लाख रुपैयाँ नाफा कमाउँदा एनएमबी बैंकको बिजनेसमा उछाल आएजस्तो देखिएको छ। यो बैंक नाफा आर्जनको हिसाबले सातौँ स्थानमा छ।

    नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक र कुमारी बैंक क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन्। यीमध्ये नेपाल इनभेस्टमेन्ट बैंकले ६२ करोड ३८ लाख रुपैयाँ, मेगाले ६० करोड ७९ लाख रुपैयाँ कुमारीले ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    सबैभन्दा कम नाफा आर्जन गर्नेमा सिभिल बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिमा ९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जब कि गत वर्ष यही अवधिमा यो बैंकले १५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    समग्रमा प्रथम त्रैमासमा २७ वटा वाणिज्य बैंकमध्ये ९ वटाले मात्र नाफा बढाउन सफल भएका छन् भने बाँकी १८ वटाको नाफा घटेको छ। नाफा बढाउन सफल बैंकहरुमा ग्लोबल आईएमई, एनआईसी एसिया, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, मेगा बैंक, बंगलादेश बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक र कुमार बैंक छन्।

    प्रथम त्रैमासमा यी २७ वटा वाणिज्य बैंकहरुको नाफा ५.१२ प्रतिशतले घटेर १४ अर्ब ७५ करोड रुपैयाँ (कर छुट्याएपछि) मा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यी बैंकहरुको कुल नाफा १५ अर्ब ५५ करोड रुपैयाँ थियो।

    कोरोना महामारीको असरका कारण बैंकहरुको नाफा घटेको जानकारहरु बताउँछन्। कोरोना संकटले ब्याज र साँवा नउठेपछि सोबापत प्रोभिजनिङ गर्दा बैंकहरुको नाफामा असर परेको उनीहरुको ठहर छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस