लसुन र प्याज खेती गर्ने किसानलाई सरकारले अनुदान दिने


  • ३ मंसिर २०७७, बुधबार १३:२६ प्रकाशित
  • ८० पटक पढिएको

  • बाँके: कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा ३९ हेक्टर क्षेत्रफलमा लसुन–प्याज खेती विस्तार गर्ने लक्ष्य राखेको छ । कृषि ज्ञान केन्द्रले यस आर्थिक वर्षमा लसुन प्याजमा कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित सो कार्यक्रम अघि सारेको हो।

    ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले लसुन र प्याज खेतीका लागि प्रतिहेक्टर एक लाख रुपैयाँका दरले रु ३९ लाख अनुदान दिइने बताए । अहिले लसुन र प्याजको अभाव भएकाले यसमा प्राथमिकता दिएको उनको भनाइ छ ।

    यो वर्ष लसुन–प्याजको व्यावसायिक खेती गर्न १४ वटा फर्म र सहकारीले अनुदानका लागि दरखास्त दिएका छन् ।

    चार करोडको कपास थन्कियो :

    जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास छ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ ।

    समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्यबराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो । पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए ।

    सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ ।रासस

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस