मेवा खेतीको लागि जान्नै पर्ने कुराहरू


  • ४ मंसिर २०७७, बिहीबार ०६:५६ प्रकाशित
  • १०२ पटक पढिएको

  • मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फलफुल हो।क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ।लगभग ४ सय वर्ष पहिला भारत हुँदै मेवाको प्रवेश नेपालमा भएको अनुमान छ।हाल नेपालको तराईदेखि १००० मिटरसम्म उचाइ भएका स्थानमा मुख्यतः घरायसी प्रयोजनका लागि करेसाबारीमा मेवा लगाइने गरिएको छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो। मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ।विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ। मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ।मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिनए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ।मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ।

    २. हावापानी र माटो :
    मेवा उष्ण तथा उपोष्ण प्रदेशीय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ।तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायीक खेती गर्न सकिन्छ।मेवाको राम्रो वृद्धि विकासका लागि करिब २२डिग्री सेल्सियस देखि ३३ डिग्री सेल्सियस सम्मको तापक्रम उपयुक्त मानिन्छ। १० डिग्री सेस्ल्सियास वा सो भन्दा कम तापक्रम मेवा खेतीको लागि हानिकारक हुन्छ। मेवाको लागि वार्षिक१०० देखि २०० से.मि.पानी पर्ने ठाउँ उचित हुन्छ।कूल वर्षा भन्दा पनि यसको वितरण कस्तो छ त्यसले मेवाको उत्पादनमा सकारात्मक वा नकारात्मक असर देखाउँदछ।मेवाको लागि पानी आवश्यक छ तर पानी जमेको भने पटक्कै हुनुहुदैँन।थोपा सिंचाई मेवाका लागि निकै राम्रो मानिन्छ ।ब्यबसायिक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । पानी जम्ने खालको जमीनमा मेवामा फेद कुहिने रोग लाग्दछ।मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ।उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतीको लागि राम्रो मानिन्छ मेवा खेतीको लागि माटोको पि।एच। मान ६.० देखि ६.५ उपयुक्त हुन्छ। मेवाका जराहरुसतहमा फैलिने हुँदा सतहको माटो गुणस्तरको हुनु पर्दछ।

    ३. मेवाका जातहरु :
    मेवाका धेरै जातहरु मध्ये अत्याधिक प्रयोगमा ल्याईएका केही जातहरु यस प्रकार छन् ।

    कोयटुम्बर – १ :
    यसको बिरुवा होचो, सानैमा फल लाग्ने तथा फलहरु गुलिया तथा गोलो आकारका हुन्छन् । पेपिनको वास्ना नआउने हुँदा यसलाई ताजा फलको रुपमा प्रयोग गर्न सकिन्छ

    कोयटुम्बर – २ :
    ठूलो तथा पहेंलो फल लाग्ने यो मध्यम तथा अग्लो जात हो । यसमा पेपिनको मात्रा अत्याधिक हुन्छ ।

    रेड लेडी :
    छिटै उत्पादन दिने तथा उत्कृष्ट स्वाद हुने यो निकै महत्त्वपूर्ण उन्नत जात हो । लगाएको आठ देखि नौ महिनामै उत्पादन लिन सकिने यस जातका बिरुवा रिङ्ग स्पट भाईरस संग प्रतिरोधात्मक हुन्छन् । रातो तथा बाक्लो गुदि हुने यसको फल निकै सुगन्धित तथा गुलिया हुन्छन् ।

    कुर्ग हनी डिउ :
    यो व्यावसायिक दृष्टीले निकै महत्वपूर्ण जात हो । यसका सबै बिरुवा सत प्रतिशत फल दिने खालका हुन्छन् (प्रायः उभयलिङ्गी अथवा पोथी ) । यो बाक्लो गुदि भएको लाम्चो खालको स्वादिष्ट फल दिने जात हो ।

    वासिंगटन :
    यो निकै पुरानो जात हो।यो जातको बोट अग्लो, फल मध्यम तथा स्वादिष्ट हुन्छ। यसको एउटा फल एक के.जी. सम्म हुन्छ।पुसा नन्हा पुसा नन्हा जातका बिरुवा निकै होचा हुन्छन्।यो घरभित्रै पनि सजिलै लगाउन सकिन्छ भने लगातार तीन बर्ष सम्म फल दिने यस उन्नत जातका बिरुवालाई गमलामा लगाउन अत्याधिक रुचाईन्छ।

    पुसा डेलिसियस :
    यसका बोटहरु मझौला र फलहरु लाम्चिला आकारका हुन्छन्। फलको गोलाई करीब ४० से.मी. र लम्बाई २० से.मी. को हुन्छ। सरदर एक के.जी. तौल हुने यसको स्वाद गुलियो र स्वादिष्ट हुन्छ।यसका फलहरु भाईरल रोग संग प्रतिरोधात्मक हुन्छन्। यिनको भण्डारण लामो समय सम्म गर्न सकिन्छ।

    पुसा जाईन्ट :
    यसको बिरुवाले करीब एक मिटरको उचाईमा फल दिने गर्दछ। यसका बोटहरु बलिया, कडा र हावाहुरी सहन सक्ने खालका हुन्छन्। यसका फलहरु २०-२५ के.जी. सम्मका आकर्षक हुन्छन्।

    पुसा ड्वार्फ़ : यो जातको बोट ज्यादै होचो २५-३० से.मी. को उचाईमा फल फल्न शुरु गर्दछ। फल अण्डाकार र सरदर तौल १-२ के.जी. सम्मको हुन्छ।यसका बिरुवाहरु बढी घनत्वमा लगाउन सकिन्छ।यो जात बाक्लो गरि खेती गरिने पद्धतिको लागि उपयुक्त मानिन्छ।

    ४. मेवाको भाले पोथि बोटको छनोट :
    मेवाको भाले पोथि बोटको छनोट गर्नु सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ।सफल व्यावसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ।सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ। व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्दा फल नलाग्ने हुदाँ उपयुक्त मानिदैन।मेवा फुल्न थालेपछि मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ । भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन।भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

    ५. बेर्ना तयार गर्दा देखि बेर्ना सार्ने कार्य गर्दा ध्यान दिन पर्ने कुराहरु :
    व्यावसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न बेड बनाउदा चौडाई एक मि., उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरेर पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारेर करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपीसकेपछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारीबाट हल्का पानी दिनुपर्दछ । बीउ रोपेको करिब १५-२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिंचाई दिनुपर्दछ ।मेवाकाबोटहरु धेरै लामो अवधिसम्म नरहने भएता पनि व्यवस्थित तरिकाले बिरुवा लगाउँदा गोडमेल, मलजल, बाली संरक्षण गर्न र फल टिप्न सुविधा हुन्छ। अतः वर्गाकार वा आयताकार तरिकाले बिरुवा लगाउन सकिन्छ। मेवाका बिरुवा १.८ मि. X १.८ मि.देखि लिएर २.५ मि. X २.५ मि. सम्मको दुरीमा लगाइन्छ। मेवा लगाउने जग्गालाई राम्रोसँग तयार गरी आवश्यक दुरी तय गरी १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल खनी सतहको माटो ३ भाग र राम्ररी पाकेको गोबरमलरकम्पोष्ट मल १ भाग मिसाई खाड्ल पुरी बिरुवा लगाउनु पर्दछ।

    ६. सिचाँई तथा मलखाद व्यबस्थापन :
    मेवालाई बिरुवाको वृद्धिको अनुसार बढी पानीको आवश्यकता पर्दछ। फलको विकास भइरहेको बेलामा पानीको अभाव हुनु हुँदैन। गरम हावापानीमा ७-१० दिन बिराएर पानी दिईरहनु पर्दछ। मेवाको बोटको विकास अन्य फलफूलको तुलनामा छिटो हुने गर्दछ। एउटा बिरुवाको लागि वार्षिक २०-२५ के.जी. कम्पोष्ट मल, ३३० ग्राम नाईट्रोजन, ५४३ ग्राम फोस्फोरस र ८३३ ग्राम पोटास दिनु पर्दछ। मेवाको बोटमा मलखाद श्रावण-भाद्र र माघ-फाल्गुण गरी २ पटक दिनु पर्दछ। मलखाद र सूक्ष्म तत्वहरुको कमी भएमा बिरुवाले विभिन्न रोगका लक्षणहरु देखाउँदछ र उत्पादनमा पनि ह्रास आउँछ।

    ७. फल टिप्ने समय र भण्डारण गर्ने उपाय :
    यसको फल बोटमै पाक्दा चराहरुले नोक्सान गर्ने हुँदा फल पाक्नु अगाडी नै टिप्नु पर्दछ। स्थानिय बजारका लागि टिप्दा फलमा केही पहेंलो रङ्ग चढेपछि तथा भण्डारण गरेर राख्नका लागि भने फलले पूर्ण आकार लिईसकेपछि कम चोप आउने अवस्थामा टिप्नु पर्दछ।मेवालाई भण्डारण गरेर राख्न वा टाढाको बजारमा बिक्री गर्न पठाउनु छ भने फललाई पाक्न शुरु नहुँदै टिप्नु पर्दछ।यस्ता फलहरुलाई ८ डिग्री सेल्सियस तापक्रम र ९५% भन्दा माथि सापेक्षिक आर्द्रता भएको कोठामा भण्डारण गर्ने वा यस्तो सुविधायुक्त भ्यानमा ढुवानी गरेर पठाउनु पर्दछ।

    ८. रोग तथा किरा व्यवस्थापन :
    मेवामा रोग तथा कीरा दुबैले आक्रमण गर्दछन् तर कीरा भन्दा रोगले बढी नोक्सानी गरेको पाईन्छ किनकि मेवा बेलैमा टिप्यो भने कीरा तथा अन्य शत्रु काग, चमेरो, सुगा, जुरेली आदिबाट सजिलै बचाउन सकिन्छ।मेवामा लाग्ने रोगहरुमा फेद कुहिने, जरा कुहिने, एन्थ्राक्नोज, मोज्याक, पात बटारिने रोग मुख्य हुन्। यिनीहरु मध्ये पनि जरा कुहिने र एन्थ्राक्नोजरोग बढी हानिकारक हुन्छन्।

    जरा कुहिने रोग ढुसीको आक्रमणबाट हुने हो। रोग लागेपछि जरा कुहिन शुरु गर्दछन् र आक्रमण बढ्दै गएपछि बोट ओइलाएर मर्दछन्। यो रोग बीउ र माटो दुबैबाट फैलिने हुँदा तिनीहरुको बेलैमा उपचार गर्नु पर्दछ। बीउ रोप्नु अगाडी बीउलाई सेरेसन वा क्याप्टानले उपचार गर्नु पर्दछ भने माटोलाई फर्मल्डिहाईड वा कुनै तामायुक्त ढुसीनाशक विषादिले उपचार गर्नु पर्दछ ।

    मेवामा एन्थ्राक्नोज रोगको ढुसीले गर्दा फल र पातहरुमा काला धब्बाहरु देखा पर्दछन्।साना फल हुँदै आक्रमण भएमा फलहरु झर्दछन् फल पाक्ने समयमा आक्रमण भएमा फलको बाहिरपट्टि कालो दाग देखा पर्दछ।बोर्डोमिक्स्चर १% बेला बेलामा छर्दा यस रोगको रोकथाम गर्न सकिन्छ।

    ९. मेवाका फाईदाहरु :
    गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ।यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन्यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।एउटा मेवामा मात्र यति भिटामिन हुन्छ जुन तपाईंको प्रतिदिनको भिटामिन सीको आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ ।स्वादमा गुलियो भएता पनि यसमा सुगर नाममात्रको हुने गर्दछ त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रुपमा एक उत्कृष्ट विकल्प हो ।केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् ।मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस