विद्यालयमा नर्सको व्यवस्थाले विद्यार्थीमा सकारात्मक असर


  • १८ पुष २०७७, शनिबार ०८:०१ प्रकाशित
  • ८९ पटक पढिएको

  • काठमाडौँ, पुस १८ गते । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आफ्नो पोषण तथा प्रजननसम्बन्धी जानकारी विद्यालयबाटै पाउन थालेका छन् । विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यालय तहको पठनपाठनमा सकारात्मक प्रभाव परेको छ।
    बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थालाई सन्तुलित र व्यवस्थित राख्ने उद्देश्यले लागू गरिएको एक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयनमा आएसँगै विद्यालयबाटै यस खालको सेवा पाउने अवस्था बनेको हो ।
    बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईंले हालसम्म प्रदेशका ११९ वटा माध्यमिक विद्यालयमा नर्सिङ सेवा सञ्चालन भइरहेको जानकारी दिँदै यस वर्ष थप २३८ वटा विद्यालयमा यस खालको सेवा विस्तार गर्ने उद्देश्य राखिएको छ । प्रदेशमा न्यूनतम ‘एक स्थानीय तह, एक विद्यालय’ पर्ने गरी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाइएको छ । प्रदेशमा ११३ वटा स्थानीय तह छन् । विद्यालयमा यस खालको कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि विद्यालय तहको पठनपाठनमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।

    व्यावहारिक ज्ञान
    विद्यालय पुगेका नर्सले बालबालिकालाई पढाउनेभन्दा पनि व्यावहारिक ज्ञान दिने गर्छन् । प्रवक्ता सेढाईंले शिक्षक तथा अभिभावकसितको प्रत्यक्ष समन्वयका आधारमा नर्सले विद्यार्थीलाई दैनिक आइपर्ने स्वास्थ्यलगायतका विभिन्न जानकारी दिने गरेको बताउनुभयो।
    नर्सले बालबालिकाको दैनिक स्वास्थ्य समस्यामा बढी ध्यान दिने गर्छन् । छात्राको महिनावारी समस्या, ज्वरो, एलर्जी, पोषण, प्रजनन स्वास्थ्यलगायतका विषयमा नर्सले व्यावहारिक ज्ञान दिने गर्छन् । यसबाट बालबालिकालाई सम्भावित स्वास्थ्य जोखिमबाट समेत बचाउन सहयोग पुग्ने जनाइएको छ । बालबालिकालाई मदिराजन्य तथा ‘जङ्क फुड’को लतबाट बचाउन उनीहरूले परामर्श दिने गरेका छन् ।
    शिक्षा र स्वास्थ्य अन्तरसम्बन्धित विषय भएको र बालबालिकाको स्वास्थ्यमा हेरचाहसँगै विद्यालयमा सकारात्मक प्रभाव पारेपछि यसलाई अब विस्तार गर्ने योजना बनाइएको छ । विगतमा विद्यालयमा शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गरिए पनि सरकारले अब स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राखेको उहाँको भनाइ छ । प्रवक्ता सेढाईंले यसबाट विद्यालयमा छात्रा बढी लाभान्वित भएका छन् भन्दै स्वास्थ्य समस्याका कारण विद्यालय छोड्ने दरमा समेत सुधार आउने विश्वास लिइएको बताउनुभयो ।
    विद्यालयमा विद्यार्थीको सङ्ख्या, छात्रा, दलित विद्यार्थीको उपस्थिति, कक्षा १० मा विद्यार्थीको औसत उपस्थितिलगायत विभिन्न आधारमा विद्यालयलाई नर्सिङ सेवाका लागि छनोट गरिँदै आएको छ ।
    कार्यक्रम कार्यान्वयन भएका विद्यालयमा यसको सकारात्मक प्रभाव रहेको जानकारी सम्बद्ध प्रधानाध्यापकले दिएका छन् । काठमाडौँस्थित पद्मकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रीता तिवारीका अनुसार नर्सिङ कार्यक्रम सुरु भएसँगै विद्यालयमा सबै विद्यार्थीको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । यसबाट कुन विद्यार्थीमा कस्तो खालको स्वास्थ्य समस्या छ भन्ने यकिन हुने र थप उपचार गर्न सहज हुने जनाइएको छ ।
    उहाँले विद्यालयमा नर्सको व्यवस्था हुँदा विद्यार्थीमा ‘जङ्क फुड’ खाने बानी छुटेको जानकारी दिँदै यसबाट बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको र विद्यालय उपस्थितिमा सुधार आएको जानकारी दिनुभयो।
    ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य विद्यालयमा नर्सको व्यवस्थासँगै पोषण, स्वास्थ्यलगायतका धेरै विषयमा बालबालिका लाभान्वित भएको जानकारी दिनुभयो । विद्यालयमा यसले सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।  गोरखापत्र 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस