कोरोना को कथा


  • १८ पुष २०७७, शनिबार ०८:२५ प्रकाशित
  • १४१ पटक पढिएको

  • कोरोना महामारीको कारण सङ्क्रमितलाई परामर्श दिने काममा निकै व्यस्त थिएँ । महिना, गते र बार लगभग बिर्सेको थिएँ । हरेक दिन सयौँ फोन, विद्युतीय खाममा सयौँ रिपोर्ट तथा मिडियामा अन्तर्वार्ताको कारण खाना खाने समय पनि आफ्ना लागि थिएन । महामारीमा आमनागरिकमा विद्यमान डर, त्रास, आतङ्क र समस्यालाई सहजीकरण गर्ने काममा म समर्पित थिएँ ।
    ‘सर, मेरी श्रीमतीलाई ज्वरो आएको सात दिन भयो । रातभर खोकी लाग्छ, ढाडमा सिमेन्टको बोरा राखेजस्तो हुन्छ भन्छे । मलाई ‘डिस्टर्ब’ भएर अर्को कोठामा सुत्ने गरेको छु । खोकीको औषधि कुन खुवाउने होला ?’ छिमेकीको फोन आयो ।
    ‘स्वाद र गन्ध कस्तो छ भाउजूलाई ?’ माहोल त्यस्तै थियो त्यसैले मैले कोरोना सङ्क्रमणको शङ्का गरेँ ।‘खै ! खाना माटोजस्तो हुन्छ भन्छे !’ उनले छोटो जवाफ दिए ।
    ‘आज पीसीआर टेस्ट गर्नुहोला । भरेसम्म रिपोर्ट आउँछ । अनि सल्लाह गरौँला । अहिले ज्वरो आउँदा सिटामोल र खोकीका लागि त्यही कफ सिरप दिनुहोला । भाउजूलाई ‘आइसोलेसन’ मा राख्नुहोला’, मैले सल्लाह दिएँ ।
    ‘कोरोना टेस्ट नगरौँ कि भनेको ! कतै गएकी छैन यो । रुघाखोकी हो । पोजिटिभ देखियो भने झ्याउ हुन्छ ।’ उनले टेस्ट नगर्नका लागि मेरो आड लिन खोजेको देखियो । ‘अहिले नै पीसीआर गर्नुहोला । समयमै थाहा भयो भने गम्भीर अवस्था आउँदैन । घरमै निको हुनसक्छ ।’ मैले ढिपी गरेँ ।
    ‘ल त !’ उनले फोन राखे ।
    म परामर्श सेवामा व्यस्त रहेँ ।
    तीन दिनपछि उनले फोन गरे ।
    ‘सर, बिहान टेस्ट गरेको थिएँ, अहिले रिपोर्ट आयो । पोजिटिभ छ । सिटी भ्यालु १६ छ ।’
    ‘कस्तो छ नि भाउजूलाई ?’ मैले जिज्ञासा राखेँ ।
    ‘अहिले त सास फेर्दा पनि बिग्रेको रेडियोजस्तो गर्छे । जेनतेन पकाउने र भाँडा माझ्ने गरेकी छे’, उनले अवस्था बताए । ‘भाउजूलाई ‘आइसोलेसन’ मा राख्नुहोला । खाना बाउछोराले पकाउने गर्नुहोला । तपाईंहरूले पनि पाँच दिनमा टेस्ट गर्नुहोला’, मैले अनुरोध गरेँ ।
    ‘मलाई खाना पकाउन झ्याउ लाग्छ । छोराले अहिलेसम्म भान्साको काम गरेको छैन । खाना पकाउँदा, भाँडा माझ्दा, घर पुछ्दा, कपडा धुँदा कोरोना त सर्दैन
    धधनि ? उसलाई डबल मास्क लगाएर, छ फिटको दूरी कायम गरेर तथा हात धुँदै पकाउँदै गर भन्छु है’, उनले भनेँ । उनको बोली भने मलाई अप्रिय लाग्यो ।
    ‘भाउजूलाई सास फेर्न तथा उभिन गाह्रो भएको छ । यस्तो अवस्थामा बाउछोरा मिलेर काम गर्नुहोला । उहाँलाई आरामको जरुरी हुन्छ । अहिल्यै एउटा अक्सिमिटर किन्नुहोला । अक्सिजनको स्तर ९२ भन्दा तल गयो भने तुरुन्तै अस्पताल पु¥याउनुपर्छ’, मैले थप अनुरोध गरेँ ।
    उनले भोलिपल्ट फोन गरेँ ।
    ‘अक्सिजन ८८, ९० यस्तै छ । मेडिकलले पाँच–छ थरि औषधि दिएको छ । अक्सिजन सिलिन्डर पनि ल्याएको छु । खासै गाह्रो छैन । घरको काम गरेकी छे, खाना पकाएकी छे । हिजो दिनभर कपडा धोएर होला, चिसो लागेको छ भन्दै थिई’, उनले गैह्रजिम्मेवार कुरा गरे ।
    ‘दाइ, तपाईं र २४÷२५ वर्षको छोरा मिलेर खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने गर्न सक्नुहुन्न ? सिकिस्त बिरामी हुँदा पनि भाउजूलाई नै दुःख दिने ? भाउजूलाई पूरै आइसोलेसनमा नराख्दा तपाईंहरूलाई सर्ने सम्भावना हुन्छ । अक्सिजनको स्तर निकै घटेको रहेछ । अहिल्यै अस्पताल लिएर जानुहोला । शिक्षण अस्पताल घर नजिक छ । त्यहीँ तुरुन्तै लिएर जानुहोला’, मैले दबाब दिएँ । साँच्चै भन्ने हो भने त्यो सोच सुन्दा मलाई वाकवाकी लाग्यो । साँझ उनले फोन गरे ।
    ‘टिचिङ गएर, छातीको एक्स रे गराएर घरमा ल्यायौँ । त्यहाँ भर्ना गर्नु पर्दैन रे । एक झोला औषधि किनेर ल्याएँ ।’ उनले शङ्कास्पद कुरा गरे ।
    ‘एकपटक एक्स–रे र अस्पतालको कागज खिचेर मेरो भाइबरमा पठाउनु त अहिल्यै’, मैले आदेश दिए सरह बोलें ।
    उनले पठाएको एक्स रे हेर्दा छातीको दुवै घेरामा पानी जमेको थियो, निमोनिया प्रष्ट देखिएको थियो । अस्पतालको कागजमा ‘गम्भीर कोभिड निमोनिया’ लेखेको थियो । साथै ‘बिरामीका आफन्तलाई अनिवार्यरूपमा भर्ना गर्ने परामर्श दिएको तर बिरामी पक्ष भर्ना हुन नमानेको’ भनेर अङ्ग्रेजीमा लेखिएको थियो ।
    ‘दाइ ! यस्तो केसमा अस्पताल बस्नु अनिवार्य हुन्छ । भाउजूको जीवनमाथि ख्यालठट्टा नगर्नुहोला । अस्पतालले गम्भीर खालको कोभिड निमोनिया भएको भनेर लेखेको छ । फोक्सोमा निमोनिया भएको छ । अहिल्यै अस्पताल पु¥याउनुहोस् दाइ । केही सहयोग चाहिए भन्नुहोला’, मैले अनुनय गरेँ ।
    ‘उसले अस्पताल बस्न मान्दिन । भान्साको काम हामीलाई आउँदैन । घरमै औषधि खाएर बस्न सजिलो’, उनको कुरा सुनेर मलाई सनन्न भयो ।
    ‘यसो गरौँ दाइ, भाउजूलाई अस्पताल भर्ना गर्ने । हजुरहरू नजिकको होटेलमा बस्ने । यसो ग¥यो भने भाउजूको उपचार पनि हुन्छ, हजुरहरूलाई पनि केही काम गर्नुपर्दैन । सुतीसुती खान पाइन्छ । भाउजू डिस्चार्ज भएपछि केही दिन होटेलको अर्को कोठामा राख्दा हुन्छ’, म निरुपाय भएँ ।
    उनले भने – ‘विचार गरौँला ।’
    मस्त निद्रामा थिएँ । अग्रपङ्क्तिमा खटिएको हुनाले विगत ६ महिनादेखि परिवारसँग मिसिएको थिइनँ । छोराछोरीसँग घुम्न गएको सपना देखिरहेको थिएँ । सपना नै सही, उनीहरूलाई अँगालोमा समेट्न पाएको थिएँ । सपना टुटाउने गरी आधा रातमा उनको फोन आयो । ‘डा. साहेब, बूढी बेहोस भई, प्लिज हेल्प गर्नुप¥यो’, उनले रुँदै फोन गरे ।
    मैले एम्बुलेन्स बोलाएँ अनि अस्पताल पठाएँ ।
    अक्सिजनको स्तर ६० पुगेको रहेछ । ड्युटी डाक्टरले सीधैँ आइसीयुमा पु¥याए । प्रतिमिनेट ५० लिटरको दरले हाइफ्लो अक्सिजन दिए । छातीको सिटिस्क्यान गरेर हेर्दा फोक्सो ड्यामेजजस्तै भएको रहेछ । मिर्गौला तथा कलेजोको कार्यक्षमता घटिरहेको रिपोर्टले देखायो । मिर्गौलाले राम्रोसँग काम नगरेको हुँदा डायलाइसिस गर्नुप¥यो । फोक्सोले काम नगरेकोले भेन्टिलेटरमा राख्नुप¥यो ।
    परीक्षण गरेर हेर्दा भाउजूको रगत जम्ने समस्या देखियो । फोक्सो, मस्तिष्क तथा अन्य अङ्गमा रगत जमेको हुँदा होसमा ल्याउन गाह्रो भयो । रगत पातलो हुने औषधिले अपेक्षाकृत काम गरेन ।
    दिन बित्दै जाँदा अन्य समस्या थपिए । मुटुको मांशपेशी सुन्नियो । मिर्गौला, कलेजो तथा मस्तिष्कले काम गर्न छोडे । बहुअङ्ग विफलताको कारण चिकित्सा विज्ञान पराजित हुने लक्षण देखियो ।
    ‘सर, उसलाई निको त हुन्छ नि ? जसरी भए पनि निको हुनुप¥यो’, उनले रुन्चे स्वरमा फोन गरे । मेरो रिस अझै मरेको थिएन । भात पकाउन, भाँडा माझ्न, घर पुछ्न तथा कपडा धुनका लागि गाह्रो भयो है दाइ !’ मैले एक डोज व्यङ्ग्य गरेँ ।
    ‘सरी सर, यस्तो होला भन्ने थाहा भएन । हे भगवान् ! मैले अब के गर्ने ?’ उनी साँच्चै आत्तिएका थिए ।चिकित्सक तथा नर्सको अथक मिहिनेतको कारण भाउजूका अङ्गहरूले बिस्तारै काम गर्न थाले । भेन्टिलेटर तथा डायलाइसिस मेसिन जोड्नु परेन । पीसीआर टेस्ट पनि नेगेटिभ आयो ।
    ‘सर, अब त ढुक्क भयो । पीसीआर नेगेटिभ आयो । अब घर लैजान मिल्छ है ?’ उनी निकै खुसी देखिए । उनलाई पीसीआर टेस्ट नेगेटिभ आउनेबित्तिकै फुमन्तर गरेजस्तै निको हुन्छ भन्ने भ्रम रहेछ । रोग रिपोर्टको पोजिटिभ र नेगेटिभमा मात्र अडेस लगाएर बसेको हुँदैन ।
    ‘हो भाउजूको रिपोर्ट नेगेटिभ आयो । मिर्गाैला र कलेजोले राम्रो काम गर्न थाले । फोक्सो आफ्नै अवस्थामा फर्किन केही महिना लाग्छ । सबैभन्दा दुःखको कुरा भाउजूको होस आएको छैन । मस्तिष्कघातको कारण भाउजू ‘भेजिटेटिभ स्टेज’ अर्थात् वनस्पतिजस्तै हुनुभएको छ । केही समय अस्पताल राख्छौँ अनि घरमा लिएर जान सक्नुहुन्छ । भाउजूको अचेत अवस्था धेरै वर्ष रहन सक्छ । तपाईंहरूको माया, पोषण, औषधि तथा फिजियोथेरापीले काम गर्न पनि सक्छ । हामीले आशा गर्नुपर्छ । सकारात्मक सोच र आशावादी प्रकृति सबैभन्दा ठूलो औषधि हो । धैर्यता र संयमले जस्तो घाउमा पनि समयले मल्हमपट्टी लगाउँछ ।
    उनी धुरुधुरु रोए । म काममा व्यस्त भएँ । एक दुई पटक फोन गरेको थिएँ तर सम्पर्क हुन सकेन ।
    ‘दाइ नमस्कार ! कस्तो छ भाउजूलाई ?’ डेढ महिनापछि फोन लाग्यो । ‘उसैलाई स्याहार सुसार गर्नका लागि प्रेमिकासँग बिहे गरेँ । छोरोले उल्टो हामीसँग झगडा गरेर आफ्नी बेहोस आमालाई लिएर कहाँ गयो गयो । जहाँसुकै जावोस्, मैले घरबाट निकालेको हैन
    क्यारे ! आउनेलाई स्वागत र जानेलाई बिदाइबाहेक के गर्न सकिन्छ र ?’  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस