बाग्मती प्रदेशको प्रदेश सभा बैठक माघ ७ मा


  • १८ पुष २०७७, शनिबार १७:१३ प्रकाशित
  • ८५ पटक पढिएको

  • हेटौँडा, पुस १७ गते । बागमती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । बागमती प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आगामी माघ ७ गतेका लागि बोलाउने निर्णय गरेको हो ।

    प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक आव्हान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
    यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृति र चितवनको राप्ती नगरपालिकामा रहेको जग्गा नगरपालिकालाई उपयोगका लागि दिने निर्णय गरेको मन्त्री फुयालले बताउनुभयो ।
    मन्त्रिपरिषद्को सिफारिश प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने व्यवस्था संविधानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा मुख्यमन्त्रीबिरुद्ध आफ्नै दलका प्रदेश सभाका सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश सभाको अधिवेशन आव्हान गरिएको छ ।
    नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर ४५ जना प्रदेश सभाका सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ ।
    मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री फुयालको उपस्थिति रहेको थियो । गोरखापत्र 
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस