माघे झरी (बालकविता)
– रमेशचन्द्र घिमिरे
दिनै भरिभरि
लाग्यो माघे झरी
बचेरालाई छोडी
चारा खोज्न चरी
गएकी थिई बाहिर
अलपत्र परी
पानी परेको छ
आँसु भेलसरि
दिनै भरिभरि
लाग्यो माघे झरी
याे जाडोमा आज
बस्ने कसो गरी
साना साना चल्ला
रुन्छन् कठै बरी
आमा आउने बाटो
हेर्छन् घरिघरी
दिनै भरिभरि
लाग्यो माघे झरी ।
– भोर्लेटार, लमजुङ
२०७५/१०/२४