भुँडी जत्रो जाँतो (बालकविता)
– रमेशचन्द्र घिमिरे
पिँढी छेउ बसेको त झन्नै गयो सातो
घ्वाइँ घ्वाइँ कराउँदा भुँडी जत्रो जाँतो
“मास राखे दाल बन्छ चामल राखे पिठो
जे बने नि पकाएर खाँदा हुन्छ मीठो”
यसो भन्दै आमाले समाएर हातो
ढुक्कैसँग घुमाउनु भो भुँडी जत्रो जाँतो
बेला बेला छुसुछुसु खन्याउँछु म नि
दाल,पिठो जे–जे बन्छ बनाउँछु भनी
घुमाउन खोजेको त दुख्यो आफ्नै पातो
सकिएन हच्काउन भुँडी जत्रो जाँतो ।
– भोर्लेटार, लमजुङ