साहित्यकार घिमिरेद्वारा लिखित बालकविता (कमिला)


  • ३ फाल्गुन २०७७, सोमबार १५:३४ प्रकाशित
  • १४८ पटक पढिएको

  • सोधेँ प्रश्न तिमीलाई –
    के हुन् भन रमिला ?

    केको कानेखुसी हो केको सट्यासुटु हो ?
    टाउको टाउको जोडेर केको लुटुपुटु हो ?
    एउटा लाइन भाँचेर अर्को लाइन फर्किने
    साथीसँग के भन्न मुन्टाे जाेत्दै अड्किने

    छैन यिनको बानी, नराम्रो र नजाती
    मिलीजुली हिँड्दछन् भई साथी साथी
    उत्तर छैन अप्ठ्यारो –
    कुरा बुझ्यौ जमिला ?

    आफू साना भए नि ठुलै यिनको दल छ
    त्यही भएर यिनको हात्ती बोक्ने बल छ
    जसको हुन्न लफडा  झमेला र झगडा
    तिनै हुन्छन् बलिया तिनै हुन्छन् तगडा

    जता पनि देखिने यिनकै हुल ताँती
    कता जाने होलान् यी भई साथी साथी
    चिन्नुपर्थ्यो सजिलै –
    चिनिनौ र ममिला ?

    देख्दा फुच्चे भए´नि जुट्छन् ठूलै काममा
    केही परी आएमा हुन्छन् एकै ठाममा
    छैन पेट अमिलो, छैन मन धमिलो
    एकता र मित्रतामा रम्ने जात हो कमिलो

    तनको सानाे भए´नि मनको ठूलो छाती
    हिँड्छन्, हिँड्छन्, हिँडिरहन्छन् भई साथी साथी

    बल्ल बोलिन् रमिला
    जमिला र ममिला
    उत्तर थाहा पाइयो –
    यिनै हुन् नि कमिला !

    • भोर्लेटार, लमजुङ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस