प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका छन् ।आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे ।
ओली समर्थित युवाहरुले प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद नारा लगाएका छन् । सपथ लिने बेला दौरा, सुरुवाल र टोपी पहिरिएका झा जनकपुरधाम झरेपछि कुर्ता, पाइजामा र गम्छामा देखिए ।
उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल गएका थिए । उनले विशिष्ट कक्षमा झालाई स्वागत गरे ।प्रदेश प्रमुखको रुपमा आएका झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । पूजापाठ पश्चात उनी आफ्नो निवास जाने कार्यक्रम रहेको छ ।प्रदेशका प्रमुख तिलक परियारलाई पदमुक्त गरेर संघीय सरकारले गत शुक्रबार झालाई नियुक्त गरेको थियो ।