नेपालीको बचत क्षमतामा ह्रास, कमाइको ९१% खर्च


  • १ चैत्र २०७७, आईतवार ०८:१० प्रकाशित
  • १२० पटक पढिएको

  • काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।

    राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१।१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो। ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ।’

    विभागले आधार वर्ष २०१०/११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८/१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९/२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ। नेपाली घरपरिवारमा उपभोग गर्ने बानीमा आएको परिवर्तन र वस्तु तथा सेवाको उपलब्धताका कारण पनि खर्च बढेको हो। नेपालीले आफ्नो कमाइको अधिकांश हिस्सा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, शिक्षा, स्वास्थ्य, घरघडेरी जोड्नेलगायत क्षेत्रमा खर्च गर्दै आएका छन्।  

    कोभिडको समयमा खर्च भयो। आम्दानी नहुँदा बचत गर्ने क्षमतामा ह्रास आएको हो। कोभिडले लामो समय लकडाउन हुँदा धेरैले रोजगारी गुमाए। व्यापार, व्यवसाय, उद्योगधन्दा बन्द भएकाले धेरैको कमाइ गुम्यो। जसले गर्दा गरिबीको संख्या बढ्यो।

    कोभिडमा आम्दानी नभए पनि दैनिक उपभोग्य वस्तुलगायतका क्षेत्रमा खर्च गर्नुपरेकाले बचत घटेको अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदीले बताए। ‘आम्दानी नभए पनि उपभोग गर्नुपर्‍यो,’ सुवेदीले भने, ‘त्यसले स्वाभाविक रुपमा नेपालीको बचत क्षमता घट्यो।’ आम्दानीको स्रोत नभएकाले विगतमा रहेको बचत पनि खर्च गर्नुपर्ने अवस्था आएको उनले बताए।

    बचत घट्दा लगानीमा प्रभाव पर्छ। त्यसले रोजगारी घट्छ। रोजगारी सिर्जना नभएपछि आम्दानी घट्छ। त्यसले समग्र मुलुकको अर्थतन्त्रमा असर पुग्छ। बचत भएपछि उक्त पुँजी अन्य क्षेत्रमा परिचालन हुन्छ। त्यसले अर्थतन्त्र चलायमान हुन्छ। पुँजी परिचालन भएपछि त्यसले रोजगारी सिर्जनासहित उत्पादन वृद्धि हुने अर्थ क्षेत्रका जानकार बताउँछन्। ‘खर्च बढेर बचत नहुँदा अर्थतन्त्रमा असर पर्छ,’ पूर्वसचिव सुवेदीले भने, ‘कोभिडका कारण यस्तो समस्या देखिएको हो।’

    गत आवको चौथो त्रैमासिकमा कोभिडको कारण अर्थतन्त्र ठप्प भएपछि त्यसको असर बचतमा परेको हो। लकडाउनका बेला सबै मानिस घरभित्र बसे। ‘आम्दानीका बाटा बन्द भए पनि खानपिनलगायत खर्च भए,’ सुवेदीले भने, ‘यो वर्ष सुधार होला।’

    नेपालीको प्रतिव्यक्ति आम्दानी पनि घटेको छ। नयाँ मापनअनुसार सन् २०१९/२० मा प्रतिव्यक्ति आम्दानी (जिएनआई अनुसार) ११ सय ४८ अमेरिकी डलर रहेको छ। २०१८/१९ मा प्रतिव्यक्ति आम्दानी ११ सय ७१ अमेरिकी डलर थियो। कुल गार्हस्थ्य उत्पादनका आधारमा उपभोग खर्च तथा प्रतिव्यक्ति आम्दानीको मापन गरिन्छ।

    कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर पनि ऋणात्मक भयो। मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको हो। आव ०७६/७७ मा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया लेख्नुहोस