चुक्कुल लगाई लुसुक्क सेल्फी लिँदै खुसुक्क
ऐना हेर्दै नाचेर हाँसी-हाँसी मुसुक्क
भाइरल हुन खोज्दैछिन् टिक्टकका नामले
फेसबुकमा भिडियो राखिन् सानी आमाले
हाँस्न पनि जानेकी रुन पनि जानेकी
लुकी-लुकी कलाकार हुन पनि जानेकी
भन्दै थिइन् माइजूले भन्दै थिए मामाले
फेसबुकमा भिडियो राखिन् सानी आमाले
पाउडर लगाई गालामा रातो दल्दै ओठमा
मस्त हुन्छिन् सानिमा रमाउँदै कोठामा
बाहिर जान खोज्दिनन् पोल्छ अरे घामले
फेसबुकमा भिडियो राखिन् सानी आमाले
बुहारीको पीडाको यिनले गीत गाएकी
उता सासू एक्लैले गोठे धन्दा भ्याएकी
उफ्री-उफ्री भन्दैछिन् थाकेँ साह्रै कामले
फेसबुकमा भिडियो राखिन् सानी आमाले
••••••
– भोर्लेटार, लमजुङ