हिमाली गाउँ (बालकविता)


  • २१ जेष्ठ २०७८, शुक्रबार २१:०८ प्रकाशित
  • १५४ पटक पढिएको

  • हिमाली गाउँ (बालकविता)
    – रञ्जुश्री पराजुली

    हिमालको फेदमुनि धेरै राम्रो गाउँ
    बस्छु त्यही रमाएर कर्मा मेरो नाउँ
    भाइ बैनी साथी सङ्गी रमाएर खेल्छौँ
    घुमाउन हामी सँगै याक पनि लान्छौँ

    हजुरआमा भित्र बसी ऊन कात्नु हुन्छ
    हजुरबुबा याक भुवा जम्मा पार्नु हुन्छ
    मेरी आमा याक दुध जम्मा धेरै पार्छिन्
    अगेनामा दुध पकाइ छुर्पी घोटी राख्छिन्

    याक दुध खानाले स्वाथ्य पोसिलो
    बालक वृद्ध सबैलाइ हुन्छ तागतिलो
    पर्यटक आउ जाउ हाम्रो गाउँतिर
    हाई हल्लो नमस्ते गर्छन चारैतिर

    अतिथि ती पर्यटक रमाएर बस्छन्
    ढिँडो दूध दही मोही रमाएर खान्छन्
    तातो चिया नुनिलो शेर्पा जाति पिउँछन्
    याक घिउ सुहाउँछ यस्मा मिसाउँछन्

    शेर्पा गाउँ सफा सुग्घर स्वास्थ्य हुन्छ राम्रो
    केटाकेटी भन्टाङभुन्टुङ दुरुस्त र राम्रो
    जाडो हुन्छ गाउँ सबै हिउँले ढाक्छ
    सानोभाइ बजुसँग रमाई आगो ताप्छ

    जाडो बेला बाक्लो लुगा याक ऊन न्यानो
    बजु आमा बनाउँछन लुगा ठूलो सानो
    दोचा बक्खु टोपी सबै याक ऊन राम्रो
    बलियो र टिकाउ हुन्छ धागो औधी चाम्रो ।
    …………..
    काठमाडौं

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया लेख्नुहोस