दर्दनाक माडि घट्नाको १६ वर्ष पुरा


  • २५ जेष्ठ २०७८, मंगलवार ०७:५५ प्रकाशित
  • ६५ पटक पढिएको

  • माडी, चितवन : माडीका रामु क्षेत्री १७ वर्षका मात्रै थिए। घरसँग साटेर ना.१ख ३२४५ नम्बरको बस चलाउँथे। आफ्नो बसमा उनी पैसा उठाउने काम गर्थे। २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस तीन घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा आइपुग्यो। त्यहाँ आइपुग्दा १ सय २० जना यात्रु थिए। भित्र खुट्टा टेक्ने ठाउँ नभएपछि यात्रु छतमा पनि थिए। 

    बसधनी क्षेत्री अरू बेला पहिला भित्रका यात्रुसँग भाडा उठाउँथे। बसन्तपुर बजार पुगेपछि मात्रै छतमा भाडा उठाउने चलन थियो। तर, भित्र भीड भएपछि उनी पहिला छतमा रहेका यात्रुसँग पैसा उठाउँदै थिए। त्यही बेला गाडी एक्कासि उड्यो। उनले बसको तल हेरे। झ्यालबाट फुटबलजस्तो उछिट्टिएको देखे। उनलाई भित्रबाट कसैले बल फाले होलान् भन्ने लाग्यो। बस भुइँमा नबजारिँदै उनी छतबाट बालुवामा हाम फाले। त्यसपछि मात्रै उनलाई थाहा भयो कि त्यसरी उछिट्टिएको कुनै बल नभएर बसकै यात्रु थिए।

    भुइँमा यत्रतत्र छरिएका शव देखेर, रोइकराई गरेको सुनेर उनलाई सपनाजस्तै लाग्यो। ‘मान्छेहरू लथालिंग देखेर सपना हो कि विपनाझै भयो’, उनी भन्छन्, ‘सपनाजस्तो लागेर चारपटक आफूले आफैंलाई चिमोटेपछि पो बम पड्किएको भन्ने भयो।’

    उनी छतमा भएकै कारण बाँचे। छतमा भएका सबै यात्रु बाँच्न सफल भए। दोस्रो बम पनि पड्किन्छ भनेर भागे। बसछेउ एक महिलाको शरीर क्षतविक्षत अवस्थामा थियो। जिउँदै रहेकी ती महिला आफ्नो पेटबाट निस्केका भित्री अंग हेर्दै थिइन्। बसको अघिल्लो भागमा बसेकी हुनाले उनकी १६ वर्षकी छोरी सकुसल थिइन्। 

    तत्कालीन विद्रोही पक्ष माओवादीले चितवनको माडीस्थित बाँदरमुढे खोलामा २०६२ जेठ २३ गते बम विस्फोट गरेको ठाउँ देखाउँदै बसका चालक विक्रम महतो र सवारीधनी रामु क्षेत्री। तस्बिर : अनिल ढकाल

    ‘विस्फोट भएपछि त्यही बहिनी र म मात्रै थियांै। आमालाई काखमा राखेर बचाइदिनुस् भन्दै थिइन्’, उनी त्यस बेलाको घटना स्मरण गर्छन्, ‘पानी–पानी भनेपछि खोलाको पानी लगेर खुवाएँ। त्यत्तिकैमा छोरीको काखमा प्राण गयो।’ 

    त्यसदिन उनकै बसको पहिलो पालो थियो। बिहान ५ बजे बगईबाट हिँड्ने बेला १०–१२ जनाको संख्यामा नेपाली सैनिक वनकट्टा पोस्टसम्म जान चढेका थिए। त्यसअघि नै माओवादी कार्यकर्ताले सेनालाई बसमा नचढाउन भनेका थिए। 

    संकटकालको समयमा सवारीधनीले सेनालाई रोक लगाउन सकेनन्। नचढाउँदा पनि यातायात व्यवसायीले सेनाबाट सजाय भोग्नुपथ्र्यो।  ‘माओवादीले पहिल्यै नचढाउनु भनेका भन्थे। नचढाए आर्मीले समात्ने डर थियो’, उनी भन्छन्, ‘हामी दुवै पक्षबाट चेपुवामा थियौं।’  नभन्दै तत्कालीन विद्रोही पक्ष माओवादीले २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा बम विस्फोट गराएको थियो। माओवादी कार्यकर्ताले बसमा चढेका सेनालाई लक्ष्य गरी बसका यात्रुलाई विद्युतीय धरापमा पारेका थिए। 

    तत्कालीन शाही नेपाली सेनाका जवानसहित ३९ जना मारिए। छतमा बसेका सबै सकुशल भए। भित्र बसेर बाँचेका यात्रु कोही अपांगता अवस्थामा छन्। कतिपय काम गरेर खान नसक्ने अवस्थाका छन्। 

    घटना भएको १० दिनसम्म पनि स्थानीयवासी खोलामा जान डराएको उनीहरू बताउँछन्।  बसका चालक र साहूको विषयमा अहिलेसम्म कहीँ कुरा भएको सुनिँदैन। उनीहरूले क्षतिपूर्ति र राहत अहिलेसम्म पाएका छैनन्। उनीहरूको नाम पीडितको सूचीमा पनि छैन। अहिलेसम्म कसैले सम्झिएको छैन उनीहरूलाई। अहिले दुवै जना परिवारसँग रमाइरहेका छन्। 

    कवाडीमा बेच्नुपर्‍यो बस
    क्षेत्रीले आयआर्जनका लागि घरसँग बस साटेका थिए। त्यस बेला साटफेर गर्दा गरिएको ६ लाखको घर अहिले करिब ६० लाख भएको उनी बताउँछन्। बम विस्फोटबाट रामुको बस पूर्णरूपमा क्षतिग्रस्त भयो। करिब एक सातापछि ट्रकले तानेर बसलाई घर ल्याए। त्यस बेला बिमा अनिवार्य नहुँदा उनले त्यसबापतको रकम पनि पाएनन्। उनले अहिलेसम्म पनि क्षतिपूर्ति पाएका छैनन्। घटनालगत्तै आएको संयुक्त राष्ट्र संघको टोलीले उनको बसको मूल्य त्यसबेला ६ लाखको मूल्याङ्कन गरेर रकम दिने बताएको थियो। त्यो रकम आफूले नपाएको उनी सुनाउँछन्। 

    तत्कालीन गृहमन्त्री कमल थापाले प्रक्रिया पूरा नभएको अनेक बहाना गरेर रकम निकासा नगरिदिएपछि उनले बसको पैसाको आशै मारे। दुई महिना धाउँदा पनि पैसा नपाएपछि उनले ४० हजार रुपैयाँमा कवाडीमा बस बेचेँ। काठमाडौं धाउँदैमा उनको करिब १ लाख खर्च भयो। ‘रकम लिन जाँदा, ताकेता गर्दा १ लाख खर्च भयो। त्यसपछि विरक्त लागेर माया मारेर बसेँं’, उनी भन्छन्, ‘पैसा पाइएन अनि कवाडीमा बेच्दिएँ।’ 

    उनको नाम घाइतेमा पनि छैन। त्यस बेला बाहिरी चोट नदेखिए पनि पछि उनको मुटुमा समस्या देखियो। त्यही कारण विदेश गएको ६ महिनामा फर्किए। उनी एमाले समर्थित रहेछन्। आफ्नै पार्टीको सरकार हुँदा पनि केही नगरेको दुखेसो उनी गर्छन्। अहिले ३३ वर्ष पुगेका उनी वसन्तपुरमा होटल चलाएर बसेका छन्। बुवा आमा, दुई छोरा छोरीसहित जीवन गुजारा चलाएका छन्। 

    १६ वर्षअघि तत्कालीन विद्रोही पक्ष माओवादीले २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा बम विस्फोट गराउँदा क्षतिग्रस्त भएको बसका धनी रामु क्षेत्री । आफूले बसको क्षतिपूर्ति नपाएको, आफू पीडितको सूचीमा पनि नपरेको गुनासो क्षेत्रीले गरेका छन् । तस्बिर : अनिल ढकाल

    आत्तिएर केही थाहा पाइनँ : चालक
    बसका चालक थिए, माडीकै विक्रम महतो। उनी त्यस बेला २७ वर्षका थिए। खोलामा बम पड्किएपछिको अवस्था उनलाई थाहा भएन। ‘खोलानजिक सामान्य ओरालो थियो। मान्छे धेरै भएकाले गाडी बिस्तारै चलाउँदै थिएँ। बालुवामा भm्याप्पै पड्कियो। आत्तिएर केही थाहा पाइनँ’, महतो भन्छन्, ‘त्यस बेला गाडीको सिटमै अडिएको रहेछु। उपचार गर्न जाऊ अरूको अवस्थाले झन गारो होला भनेर घरै बसेँ।’ 

    सिसाले उनको हात काटेको थियो। बम विस्फोटको घटनामा परेपछि उनी बेला–बेला तर्सिन्थे। सुरुमा केही ठूलो आवाज आउँदा पनि उनी झसंग हुन्थे। घटना सम्झदा उनी नरमाइलो मान्छन्। उनको घर भरतपुरबाट बाँदरमुढे नपुग्दै बाटोमा पर्छ। 

    त्यसैले घटनास्थलतर्फ जाने मेसो मिल्दैन। ‘पहिला–पहिला त्यहाँ आउँदा मनै खिन्न हुन्थ्यो’, उनी भन्छन्।  महतो पहिला विदेश गए। फर्केर आफैंले ट्रयाक्टर किनेर चलाएका छन्। बा­­–आमा श्रीमती र एक छोरा छन्। अन्नपूर्णपोस्ट बाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस