लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)


  • १३ श्रावण २०७८, बुधबार ०७:५७ प्रकाशित
  • १०० पटक पढिएको

  • वैदेशिक व्यापार

    १. नेपालको वैदेशिक व्यापारमा देखिएका समस्याहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
     दुई वा सोभन्दा बढी देशहरूबीच वस्तु तथा सेवाको खरिद–बिक्रीको कारोबार हुनु वैदेशिक व्यापार हो । वैदेशिक व्यापार विश्व अर्थतन्त्रसँग आबद्ध हुने प्रमुख माध्यम पनि हो । सामान्यतया आफ्नो देशमा उत्पादन हुने वस्तुको निर्यात गर्न र उत्पादन नहुने वस्तुको सहज आपूर्ति गर्न वैदेशिक व्यापार गर्ने गरिन्छ । नेपाल भूपरिवेष्टित देशका रूपमा आर्थिक र भौगोलिक हिसाबले दुई ठूला देश भारत र चीनको बीचमा अवस्थित छ । नेपाल र भारतबीच खुला सिमाना छ । प्रभावकारी सीमा सुरक्षा र सशक्त भन्सार प्रणालीको अभावका कारण चोरी निकासी पैठारीमा पूर्ण नियन्त्रण हुन नसकेको अवस्था छ । आयात निर्यातको वास्तविक सूचना तथा तथ्याङ्क उपलब्ध हुन सकेको छैन । यो नेपालको वैदेशिक व्यापारमा देखिएको प्रमुख समस्या हो । यसका अरू समस्यालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
    – निर्यातको तुलनामा आयात बढी हुनु, यसबाट व्यापार घाटा बढ्दै जानु, आ.व. २०७७/७८ मा आयात रु. १५ खर्ब ३९ अर्ब र निर्यात रु. एक खर्ब ४१ अर्ब भई व्यापार घाटा रु. १३ खर्ब ९८ अर्ब पुगेको छ । जुन हालको कुल गार्हस्थ उत्पादन रु. ४२ खर्ब ६६ अर्बको ३२.७७ प्रतिशत र चालू वर्षको बजेट रु. १६ खर्ब ४७ अर्बको ८४.८८ प्रतिशत हुन आउँछ । यस्तो व्यापार घाटा आ.व. २०७६÷७७ मा आयात रु. १० खर्ब ९९ अर्ब र आ.व. २०७५/७६ मा आयात रु. १३ खर्ब २१ अर्ब रहेको थियो ।
    – नेपालको वैदेशिक व्यापार बढी आयातमुखी हुनु, त्यसमा पनि बढी भारतमुखी हुनु, आ.व. २०७७/७८ मा भारतसँग व्यापार घाटा रु. आठ खर्ब ६५ अर्ब छ, जुन कुल व्यापार घाटाको ६२ प्रतिशत हिस्सा हो । चीनसँग आ.व. २०७७/७८ मा खासै व्यापार भएन, तैपनि चीनसँग व्यापार घाटा रु. एक खर्ब ३२ अर्ब छ, जुन कुल व्यापार घाटाको ९.५ प्रतिशत हिस्सा हो ।
    – पेट्रोलियम पदार्थको बढ्दो आयातले व्यापार घाटा उच्च हँुदै जानु, आ.व. २०७७/७८ मा रु. दुई खर्ब १४ अर्बको अयात, कुल व्यापार घाटामा १५ प्रतिशत योगदान,
    – नेपालको निर्यात व्यापार भरपर्दो र टिकाउयोग्य नहुनु, भारतकै कच्चा पदार्थ प्रयोग गरी सामान्य प्रशोधन गरेर भारत निर्यात गर्ने प्रकृतिको हुनु, जस्तै ; पाम आयल,
    – परम्परागत उत्पादन प्रविधिले गर्दा उत्पादन लागत बढ्नु,
    – महँगा सवारी साधन, सुनलगायतका विलासिताका वस्तुको प्रयोग बढ्दै जानु,
    – निकासीयोग्य वस्तुको अध्ययन, अनुसन्धान एवं पहिचान हुन नसक्नु,
    – तरकारी, फलफूल, खाद्यान्नलगायतका कृषियोग्य वस्तुहरूको आयात बढ्दै जानु,
    – देशगत र वस्तुगत व्यापार विविधीकरण हुन नसक्नु,
    – बहुपक्षीय तथा क्षेत्रीय व्यापार सन्धि सम्झौताहरूबाट प्राप्त अवसरहरूको उपयोग गर्न नसक्नु,
    – विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट आर्थिक कूटनीति प्रभावकारी हुन नसक्दा तेस्रो देशमा व्यापार बढ्न नसक्नु,
    – उद्योग, व्यापार क्षेत्रमा वैदेशिक लगानी बढ्न नसक्नु,
    – उद्योग, व्यापार एवं आयात निर्यात क्षेत्रमा पर्याप्त पूर्वाधारको कमी हुनु ।
    – यसरी नेपालको वैदेशिक व्यापारमा यी र यस्तै प्रकृतिका समस्याहरू छन् । यसका लागि भारतबाट बढी आयात हुने वस्तुको स्वदेशमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्दछ । पेट्रोलियम पदार्थको विकल्पमा विद्युत्को प्रयोग बढाउनुपर्दछ । साना र महँगा निजी सवारी साधनभन्दा ठूला र सस्ता विद्युतीय सार्वजनिक सवारी साधनमा जोड दिई बहुपक्षीय प्रयास र प्रयत्नबाट उच्च व्यापार घाटा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

    २. नेपालको संविधानमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी के कस्तो नीतिगत व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
     नेपालको संविधानको धारा ५१ (क)ले नेपालमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीतिगत व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :

    राष्ट्रिय एकता
    – नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण,
    – राष्ट्रिय एकता अक्षुण्ण राख्ने,
    – विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम,
    – सङ्घीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास,
    – राष्ट्रिय एकता प्रवद्र्धन ।

    राष्ट्रिय सुरक्षा
    – शान्ति सुरक्षाको व्यवस्था,
    – मानवीय सुरक्षाको प्रत्याभूति,
    – राष्ट्रिय सुरक्षा प्रणालीको विकास,
    – राष्ट्रिय सुरक्षा नीति,
    – सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने,
    – नागरिकलाई देशको सेवा गर्न तत्पर र सक्षम बनाउने,
    – पूर्वराष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभव उपयोग गर्ने ।

    ३. स्वास्थ्य समस्या हटाउन व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाबारे चर्चा गर्नुहोस् ।
     मानिसमा विभिन्न प्रकारका स्वास्थ्य समस्या हुन्छन् । मानिसको आफ्नो शरीर, घरपरिवार, समाज, वातावरणलगायतका स्वास्थ्य समस्या देखिन सक्ने सबै क्षेत्रको सरसफाइ गर्ने, सचेतना अभिवृद्धि गर्नेलगायतका कार्यमा व्यक्तिले बहुआयामिक भूमिका निर्वाह गर्न सक्दछ । कोभिडजस्तो सरुवा रोग नियन्त्रणमा त व्यक्तिको भूमिका अपार हुन्छ । समग्रमा स्वास्थ्य समस्या हटाउनका लागि व्यक्तिले निम्न भूमिका निर्वाह गर्न सक्दछ ः
    – खाना खानुअघि र पछि राम्ररी हात धुने, अरूलाई पनि सोहीअनुसार गर्न सल्लाह सुझाव दिने,
    – खानेकुरा राम्ररी सफा गरी पकाई सन्तुलित तरिकाले सेवन गर्ने,
    – शरीरका अङ्गहरूको नियमित सरसफाइ गर्ने, अरूलाई पनि सरसफाइ गर्न सल्लाह सुझाव दिने,
    – शौचालयको प्रयोग गर्ने तथा अरूलाई पनि प्रयोग गर्न सल्लाह सुझाव दिने,
    – धूमपान तथा मद्यपान नगर्ने, अरूलाई पनि नगर्न सल्लाह सुझाव दिने,
    – नियमित रूपमा शारीरिक व्यायाम गर्ने, खेलकुदमा संलग्न हुने,
    – बेला–बेलामा स्वास्थ्य परीक्षण गराउने र आवश्यकताअनुसार उपलब्ध स्वास्थ्य सेवाको उपयोग गर्ने, अरूलाई पनि गर्न लगाउने,
    – रोग लाग्नूपूर्व होसियारी अपनाउने तथा रोग लागेपछि नियमित उपचार गर्ने,
    – घरपरिवार, समाजमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने,
    – स्वास्थ्य शिक्षामा अध्ययन, अनुसन्धान गरी असल राष्ट्रसेवक बन्ने ।

    ४. नेपालको संविधान, २०७२ अनुसार राज्यले अर्थ, उद्योग र वाणिज्यसम्बन्धी के कस्ता नीतिहरू अवलम्बन गर्ने व्यवस्था छ ? लेख्नुहोस् ।
     नेपालको संविधान, २०७२ को धारा ५१ (घ) अनुसार राज्यले अर्थ, उद्योग र वाणिज्यसम्बन्धी निम्नानुसारका नीतिहरू अवलम्बन गर्ने व्यवस्था छ ः
    – सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने,
    – अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महìव दिँदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने,
    – सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने,
    – आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता, जवाफदेही र प्रतिस्पर्धा कायम गर्न नियमनको व्यवस्था गर्दै सर्वाङ्गीण राष्ट्रिय विकासमा प्रोत्साहन र परिचालन गर्ने,
    – उपलब्ध साधन, स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने,
    – तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उद्योगको विकास र विस्तारद्वारा निर्यात प्रवद्र्धन गर्दै वस्तु तथा सेवाको बजार विविधीकरण र विस्तार गर्ने,
    – कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने,
    – राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र प्रवद्र्धन गरी नेपाली श्रम, सीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने,
    – राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिने,
    – राष्ट्रिय हित अनुकूल आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धनका क्षेत्रमा वैदेशिक पुँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा प्रोत्साहन एवं परिचालन गर्ने,
    – वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने,
    – गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने,
    – औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय परियोजना, विदेशी लगानीका परियोजनाको सन्दर्भमा अन्तरप्रदेश तथा प्रदेश र सङ्घबीच समन्वय स्थापित गराई आर्थिक विकासलाई गतिशीलता प्रदान गर्ने ।

    ५. नेपाल सरकारले सार्वजनिक संस्थानको निजीकरण के कस्ता प्रक्रिया अपनाई गर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
     नेपालमा सार्वजनिक संस्थान निजीकरण गर्नका लागि निजीकरण ऐन, २०५० तर्जुमा गरिएको छ । अर्थमन्त्री वा अर्थराज्यमन्त्रीको अध्यक्षतामा निजीकरण समितिको व्यवस्था छ । निजीकरण ऐन, २०५० अनुसार नेपाल सरकारले निजीकरणका लागि वर्गीकृत कुनै सार्वजनिक संस्थानलाई देहायको कुनै वा सबै प्रक्रिया अपनाई निजीकरण गर्न सक्ने व्यवस्था छ ः
    – शेयर बिक्री गरेर,
    – सार्वजनिक संस्थानको शेयरहरू जनसाधारण, कर्मचारी, कामदार तथा त्यस्तो संस्थानको व्यवस्थापन सञ्चालन गर्न इच्छुक व्यक्ति वा कम्पनीलाई बिक्री गरेर, यसरी शेयर बिक्री गर्दा संस्थानको प्रकृति तथा वित्तीय अवस्था हेरी सम्भव भएसम्म जनसाधारण, कामदार तथा कर्मचारीको बढी सहभागिता गराइने व्यवस्था छ ।
    – सहकारीकरण गरेर,
    – सम्पत्ति बेचबिखन गरेर,
    – सम्पत्ति भाडामा दिएर,
    – व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागिता गराएर,
    – निजीकरण समितिको सिफारिसमा नेपाल सरकारले उपयुक्त देखेको अन्य कुनै माध्यम अपनाएर ।

    ६. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार के के हुन् ? उल्लेख गर्नुहोस् ।
     स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वडा अध्यक्षको काम, कर्तव्य र अधिकार निम्नअनुसार छन् ः
    – वडा समितिको अध्यक्ष भई कार्य गर्ने,
    – वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
    – वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेस गर्ने,
    – वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने,
    – विविध विषयमा सिफारिस तथा प्रमाणितसम्बन्धी कार्य गर्ने,
    – सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिससम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने,
    – कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस