संस्कृति संरक्षण र समाज सेवामा लमजुङका महिलाहरू


  • ४ भाद्र २०७८, शुक्रबार १३:०४ प्रकाशित
  • १६८ पटक पढिएको

  • रमेशचन्द्र घिमिरे
    भोर्लेटार, लमजुङ (२०७८/०५/०४)
    लोकगीत र लोकसंस्कृतिको संरक्षणसँगै समाजसेवा र परोपकारी कार्य गर्ने हेतुले लमजुङ मध्यनेपाल घर भई हाल काठमाडौं बसोबास गर्दै आएका सात जना चेलिबेटीहरूले करापुटार अफिसियल नामक यु ट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । उक्त च्यानलको पहिलो भिडियो हालै सार्वजनिक समेत भएको छ । रोइला गीतको भाकामा आधारित उक्त भिडियोमा चर्चित गायक राजु परियार र तारा थापा लगायतका कलाकारहरूको स्वर रहेको छ ।

    भोर्लेटार, लमजुङ घर भए पनि हाल टोखा नगरपालिका, गोङ्गबु काठमाडौँमा घर भएकी कमला कुँवर रेग्मीसहित सीता घिमिरे, गङ्गा कार्की, इन्दिरा भण्डारी, रीता भण्डारी, दीपा थापा, यशोदा खड्का थापा गरी ७ जना महिलाहरू यसमा सदस्य छन् । गीत-सङ्गीतका माध्यमबाट रकम सङ्कलन गर्ने, आफैले समेत लगानी गर्ने र सङ्कलित रकमलाई पीडितहरूको घरबस्तीमै गएर उपचारार्थ रकम हस्तान्तरण गर्ने आफ्नो समूहको उद्देश्य रहेको समूहकी सक्रिय सञ्चालिका कमला कुँवर रेग्मीले बताएकी छन् ।

    गत वर्ष पनि काठमाडौंमा रहेका लमजुङे महिला दिदी-बहिनी र आमा समूहको सहभागितामा लमजुङ, भोर्लेटारका मृगौला रोगबाट पीडित गङ्गाबहादुर गुरुङका लागि उपचार खर्च जुटाई रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै गरेर धुर्मुस-सुन्तली फाउन्डेसन र इन्द्रेनी सांस्कृतिक परिवारका लागि पनि समूहले रकम प्रदान गरेको र वृद्धाश्रम तथा अनाथाश्रममा गएर समेत उक्त समूहका महिला दिदीबहिनीहरूले उल्लेख्य सहयोग गर्दै आएका छन् । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असम्भव व्यक्तिहरूलाई रकम सङ्कलन गरी हस्तान्तरण गर्ने योजना समेत यस समूहको रहेको छ । चर्चित लोक दोहोरी गायक राजु परियारको समेत यस पुनीत कार्यमा साथ, सहयोग र समर्थन रहेको समूहकी सञ्चालिका कमला कुँवर रेग्मीले लिखु अनलाइनलाई बताएकी छन् ।

    करापुटार अफिसियल युट्युब च्यानलको पहिलो भिडियो यस्तो छ:

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस